file photo

मकवानपुर – मकवानपुरकाे मनहरी गाउँपालिका-९ ज्यामिरे भलाद्मीचोकमा स्कुटर दुर्घटना हुँदा तीन जनाकाे ज्यान गएकाे छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत भलाद्मीचोकमा गएराति ना ३९ प १४३९ नम्बरको स्कुटरलाई गाडीले ठक्कर दिँदा चालकसहित तीन जनाको ज्यान गएकाे हाे । मृतक तीनै जना एउटै स्कुटरमा रहेका प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा मनहरी गाउँपालिका–८ सिमपानी बस्ने अन्दाजी ३२ वर्षीय धर्मराज मोक्तान, स्कुटर चालक ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका ३२ वर्षीय रुपेश तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । रुपेश र मिलनको भरतपुरमा रहेकाे पुरानो मेडिकल अस्पतालमा पुर्याउने बित्तिक्कै र धर्मराजको आज बिहान ३ बजे उपचारका क्रममा ज्यान गएकाे प्रहरी उपरीक्षक बामदेव गाैतमले बताउनु भयाे । स्कुटरलाई अरु गाडीले ठक्कर दिएको भनिए पनि ठक्कर दिने गाडीको पहिचान खुलेको छैन । स्कुटरलाई ठक्कर दिने गाडीकाे खाेजी भइरहेकाे प्रहरी उपरीक्षक गौतमले बताउनु भयाे । दुर्घटनाका कारण आक्रोशित स्थानीयले गएराति राति ११ बजेदेखि आज बिहान ६ बजेसम्म राजमार्ग ठप्प पारेका थिए । ठक्कर दिने गाडी तत्काल पत्ता लगाउने सहमतिमा राजमार्ग खुलाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।