मकवानपुर– मकवानपुरमा मंगलबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र (प्रादेशिक प्रयोगशाला) मा गरिएको परीक्षणमा हेटौंडाका २३ सहित मकवानपुर जिल्लाका २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका मध्ये हेटौंडा उपमहानगरपालिकाका स्थायीबासी १८ जना, हेटौंडाका विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारी ५ जना र मकवानपुर जिल्लाका विभिन्न पालिकाका ३ रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो । गत साउन २९ र ३० गते सङ्कलन गरिएको स्वाबको नमूना परीक्षण गर्दा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का ५ जना, वडा नम्बर ५ का ३ जना, वडा नम्बर ६ का १ जना, वडा नम्बर २ का १ जना, वडा नम्बर १ का १ जना, वडा नम्बर ८ का १ जना, वडा नम्बर १० का २ जना, वडा नम्बर ११ का २ जना र वडा नम्बर १२ का २ जना रहेका छन् । त्यस्तै मकवानपुरगढी गाउँपालिकाका २ जना र बागमती गाउँपालिकाका १ जना रहेका छन् । उनीहरु मध्ये हेटौंडा १ का एकजना स्वास्थ्यकर्मी रहेको पाइएको उहाँले बताउनुभयो ।
हेटौंडाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुमध्ये दैलेख, काठमाडौं, पाल्पा, भक्तपुर र पर्सा जिल्लाका १÷१ जनामा सङ्क्रमण पुष्टि भएको चौलागाईले जानकारी दिनुभयो । यसअघि हिजो सोमबार पनि बागमती प्रदेशकी उपसभामुख राधिका तामाङसहित १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । हिजो पहिचान भएका सङ्क्रमित मध्ये ८ जना प्रहरी थिए ।