मकवानपुर– मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.विश्वराज जोशीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । गत बुधबार प्रदेश मन्त्रिपरिषद बैठकबाट नियुक्त हुनभएका जोशीलाई आज प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले नियुक्तिपत्र प्रदान गर्नुभएको थियो भने मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।

सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेर प्रदेश सरकारले उल्लेखनीय कार्य गरेको बताउनुभयो । उहाँले प्रतिष्ठानको कार्य अव तिव्रगतिमा अघि वढने भन्दै प्रतिष्ठान स्थापना गरेर प्रदेश सरकारले उल्लेखनीय कार्य गरेको दावी समेत गर्नुभयो । उहाँले उपकुलपतिको योग्यता र क्षमताका आधारमा प्रदेशमा ल्याएको बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले प्रतिष्ठानमा रुपान्तरण भएपछि हेटौंडा अस्पताल अब ३ सय बेडको हुने तथा प्रदेशका १३ वटै जिल्लाका अस्पताललाई प्रतिष्ठानभित्र ल्याउने योजना रहेको समेत बताउनुभयो ।
कार्यक्रममा नवनियुक्त उपकुलपति डा. विश्वराज जोशीले प्रतिष्ठानका वारेमा अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै जोशीले आफुले पाएको जिम्मेवारी अनुसार काम गरेर देखाउने वताउनुभयो । यसअघि वीर अस्पतालमा नेसनल एकेडेमी अफ मेडिकल साइन्सेजको रजिस्ट्रार, वीर अस्पतालमा युरोलोजिष्ट प्रमुखसमेत रहनुभएका जोशीले सन् १९७४ मा एमडी र १९८३ मा डाक्टर उपाधी हासिल गर्नुभएको हो ।
कार्यक्रममा प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, राष्ट्रियसभाका सदस्य रामचन्द्र राइ, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल, भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामा, प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्र बहादुर बाँनिया, प्रदेशसभाका सदस्यहरु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, विभिन्न पालिकाका प्रमुखहरू, बिभीन्न मन्त्रालयका सचिबलगायतकाको सहभागिता रहेको थियो ।