हेटौंडा । मकवानपुरका दश वटै स्थानीय तहमा नागरिकले मतदान गर्नका लागि उत्साहजनक सहभागिता जनाएका छन् । आम नागरिकहरु बिहान ६ बजेनै आफ्ना मतदान केन्द्रमा लाइन बस्न पुगिसकेका थिए । स्थानीय तह निर्वाचनअन्तर्गत् आज मतदान प्रक्रिया भइरहेको छ । जिल्लाका १ सय ६५ वटै मतदान स्थलमा बिहानैबाट लाइन लाग्ने नागरिकहरुको घुइचो रहेको थियो । जिल्लाको दशवटै स्थानीय तहमा मतदान धमाधम भइरहेको छ ।
विशेष गरी महिला र ज्येष्ठ नागरिक आफ्नो मतदाधिकार प्रयोग गर्न उत्सुक भएर सहभागी भएका छन् । कतिपय स्थानमा बालबालिका बोकेर पनि मतदान प्रक्रियामा महिलाहरु सहभागी भएका छन् । जिल्लाका शीर्ष नेताहरु पनि आआफ्नो मतदान प्रक्रियामा सहभागी हुन मतदान केन्द्रमा पुगिसेका छन् । विहानैबाट मौसम सफाहुँदा मतदान प्रक्रियालाई भने सहजता प्रदान गरेको छ ।
स्थानीय तहमा जनप्रतिनिधि छान्नको लागि आज मतदान हुँदैछ । मतदानको दिन आज मकवानपुर जिल्लाका दश वटा स्थानीय तहका ३ सय ६५ वटा मतदान केन्द्रबाट दुई लाख ९४ हजार ९१९ मतदाताले मतदान प्रक्रियामा सहभागिता जनाउदैछन् । जसमध्ये १ लाख ४ ९ जना पुरुष , १ लाख ४४ हजार ९ सय ५९ जना महिला तथा ६ जना तेस्रो लिङ्गी रहेको निर्वाचन आयोग बागमती प्रदेश कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ । हेटौंडामा मात्र १ लाख ४ हजार ४ सय ५० जना मतदाता रहेका छन् । यस्तै, थाहा नगरपालिकामा ३२ हजार ३ सय ७ जना मतदाता रहेका छन् । बकैया गाउँपालिकामा २९ हजार ९ सय ४३ जना, बागमती गाउँपालिकामा २२ हजार ४० जना मतदाता रहेका छन् । यस्तै भीमफेदी गाउँपालिकामा १७ हजार ४ सय २८ जना, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय १८ जना, मनहरी गाउँपालिकामा २७ हजार ७ सय २१ मतदाता रहेका छन् । राक्सिराङ गाउँपालिकामा १५ हजार ८ सय ३२ जना, ईन्द्रसरोवर गाउँपालिकामा १२ हजार ४ सय ७१ जना र कैलाश गाउँपालिकामा १४ हजार ५ सय ४७ मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जानकारी दिएको छ ।