मकवानपुर– ढुंगा, गीट्टी, बालुवा अनुगमन समिति मकवानपुरले जिल्ला भित्र अनाधिकृत रुपमा सञ्चालित क्रसर तथा बालुवा उद्योग बन्द गर्ने निर्णय भएको छ । ढुंगा, गीट्टी, बालुवा अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बुधबार बसेको बैठकले अनाधिकृत रुपमा सञ्चालित क्रसर तथा बालुवा उद्योग बन्द गर्नेे निर्णय गरेको हो ।
बैठकले सम्बन्धित निकायवाट अनुमति प्राप्त नगरी तथा उद्धेश्य अनुसारको काम नगरेका र एक स्थानमा अनुमति लिई अर्को स्थानमा अनधिकृत रुपमा संचालित त्यस्ता उद्योगहरु यथा शिघ्र वन्द गर्न स्थानीयतह, घरेलु तथा साना उद्योग कार्यालय र विद्युत प्राधिकरणलाई कारवाहीको लागि आवश्यक प्रक्रिया वढाउन पत्राचार गर्ने निर्णय गरिएको समितिका संयोजक खुलालले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले नदी जन्य पदार्थ व्यवस्थापनको सन्दर्भमा स्थानीयतहवाट निर्णय भई प्राप्त प्रतिवेदनका आधारमा जिल्ला विपद व्यवस्थापन समितिद्धारा भएको निर्णयलाई व्यवस्थित रुपमा कार्यान्वयन गर्न स्थानीय तहलाई निर्देशन दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । यस्तै हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिका कार्यालयवाट चुरे तराई मधेस संरक्षण क्षेत्रमा आईई पुनः मुल्याङ्कन प्रतिवेदन अनुसार नदिजन्य पदार्थको उत्खनन् सहमतिका लागि राष्टपति चुरे तराई मधेस संरक्षण विकास समिति र पर्सा राष्ट्रिय निकुञ्जको कार्यालयलाई आवश्यक सहयोगको लागि सिफारिश गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर, शसस्त्र प्रहरी उपरिक्षक निरकृष्ण अधिकारी, डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख ईमनाथ पौडेल, डिभिजन वन कार्यालय मनहरीका प्रमुख दिर्घनारायण कोईराला, जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेल, जिसस मकवानपुरका प्रविधिक रामसेवक मण्डल, प्रहरी नायव उपरिक्षक जयशंकर रिमाल, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख मनोज शाह, सहायक प्रमुख मिथिलेश महतोलगायतको सहभागिता थियो ।