सुनकोशी नदीमा आएको बाढीले नवलपुरमा निर्माणाधीन मोटेरेबल पुल बगाएको छ । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट जोड्ने मोटेरेबल पुल बिहीबार सुनकाशी नदीमा आएको बाढीले बगाएको हो । करिब २३ करोड लागतमा चुँदी कन्स्ट्रक्सन प्रा।लि सानेपाले उक्त पुल निर्माणको ठेक्का लिएको थियो । कुल २ सय १० मिटर लम्बाइको पुल असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लागेको थियो ।
बुधवार मात्रै ढलान गरेको पुलको ४० मिटर भागमा बाढीले क्षति गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने बेलामा पुल निर्माणको काम पछिल्लो समय तीव्र बनाइएको थियो । वर्षामा बाढीको त्रास हुने भएकाले त्यस अगावै सक्ने गरी काम अघि बढाइएको भए पनि ढलान सकेको केही घण्टामा बाढीले पुल बगाएको निर्माण कम्पनीका प्रतिनिधि मदन माझीले बताउनुभयो । उहाँका अनुसार यो पुल नयाँ टेक्नोलोजी अन्तरगतको केवल ब्रिज हो । उक्त प्रविधिबाट बनेको पुलमा ढलान सकिएपछि केवल तान्ने तयारी थियो । केवल तान्न नपाउँदै बाढीले बगाएको माझी बताउनुहुन्छ । ‘यो नेपालमा नयाँ प्रविधिबाट बन्दै गरेको पुल हो । केवल ब्रिज बनाउँदा ढलान सकेको १४ दिन सम्म केवल तान्नुपर्ने हुन्छ तर ढलान सकेको केही घण्टामै बाढीले बगायो ।’ माझीले भन्नुभयो, ‘गुणस्तरीय काम गर्दा गर्दै प्रकृतिले साथ नदिँदा ४० मिटर स्ल्याव भत्कियो । निकै ठुलो क्षति भयो ।’ माझीका अनुसार करिब ६ करोड बराबरको क्षति भएको छ ।
निर्माणाधीन पुल बाढीले बगाएर यस क्षेत्रको भौतिक विकासको गुणस्तर कमजोर रहेको सङ्केत गरेको सिन्धुलीको फिक्लल गाउँपालिका २ का वडाध्यक्ष शङ्कर भण्डारीले बताउनुभयो । ‘वर्षाको समयमा सुनकोशीको बाढी सधैँ यस्तै हो क्षति गर्छ । वर्षा लाग्दालाग्दै पनि निर्माण कम्पनीले नदिको मुलबहावमा काम गरिरहेको थियो । हेर्दाहेर्दै बगायो ।’ भण्डारीले भने, ‘दिगो विकास यहाँको आवश्यकता हो । यही क्षतिलाई देखाएर काम रोक्न वा अन्य बहाना गर्न पाइँदैन समयमै काम सक्न हामी ताकेता गर्छौ ।’ ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले निर्माण कम्पनीले आफूहरूसँग कुनै समन्वय नगरेको बताउनुभयो । सडक डिभिजन कार्यालय ओखलढुङ्गाका प्रमुख अरुणकुमार लाल कर्णले आफ्नो कार्यक्षेत्रमा उक्त आयोजना नपर्ने बताउनुभयो । ढलानमा दिइएको सपोर्टले लोड धान्न नसकेर क्षति भएको हुनसक्ने उहाँको भनाई छ । ‘हामीले त्यो आयोजना हेर्दैनौँ खास समस्या साइड र डिजाइन हेरेपछि थाहा हुन्छ तर यसरी बाढीले बगाउनुमा ढलानको सपोर्टले लोड थेग्न नसकेको हुनसक्छ ।’ उहाँले भन्नुभयो ‘त्यो पुलको भित्र केबुल राखिएको हुन्छ । पहिलो चरणमा १४ दिन भित्र र दोस्रो चरणमा १ महिनामा केबुल तन्काउनुपर्ने हुन्छ । समग्रमा भन्दा यो एक प्रकारको डिजास्टर नै हो ।’ असार सम्ममा निर्माण सक्ने जिम्मा लिएको निर्माण कम्पनीले ढिलोमा माघ सम्ममा काम सक्ने जनाएको थियो । सुनकोशी नदिकै घुर्मी र हर्कपुर जोड्ने पुल यसअघि हावाले लडाएको थियो ।