मकवानपुर, पुस १६ । बागमती प्रदेश सरकारले नेपालमै पहिलो पटक माउन्टेन बाइक गाइडहरूलाई लाइसेन्स (ईजाजतपत्र) वितरण गरेको छ । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले सोमबार एक कार्यक्रमकाबीच २४ जना माउन्टेन बाइक गाइडहरूलाई लाइसेन्स (ईजाजतपत्र) वितरण गर्नु भएको हो ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानबाट तालिम लिएका २४ जना माउन्टेन बाइक गाइडहरूलाई ५ वर्षका लागि ईजाजतपत्र वितरण गरिएको प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले जानकारी दिनुभयो । साहसिक पर्यटनलाई व्यवस्थित, सुरक्षित र अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यसहित प्रदेशको पर्यटन ऐनमा भएको व्यवस्था अनुसार ईजाजतपत्र वितरण गरिएको उहाँले बताउनुभयो ।
प्रदेशभित्र माउन्टेन बाइक रूटको पहिचान तथा प्रवद्र्धनसमेत अघि बढाइएको उहाँले बताउनुभयो । प्रदेश सरकारले हिमाल, पहाड र ग्रामीण भू–भागले भरिपूर्ण बागमती प्रदेशलाई माउन्टेन बाइकिङको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । यसअघि कानुनी संरचना नहुँदा अनौपचारिक रूपमा सञ्चालन हुँदै आएको माउन्टेन बाइक गाइडिङलाई अब विधिसम्मत बनाइएको सचिव सुवेदीले जानकारी दिनुभयो ।
सचिव सुवेदीले यो पहलले साहसिक पर्यटनलाई संस्थागत गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । “बागमती प्रदेशको भूगोल माउन्टेन बाइकिङका लागि अत्यन्त उपयुक्त छ । गाइड लाइसेन्समार्फत सुरक्षा, गुणस्तर र उत्तरदायित्व सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय सहभागिता बढाउने हाम्रो लक्ष्य हो ।” उहाँले भन्नुभयो । प्रदेश सरकारका अनुसार लाइसेन्स प्राप्त गाइडमार्फत सञ्चालन हुने माउन्टेन बाइकिङले पर्यटकको सुरक्षाका साथै प्रदेशको पर्यटन छविमा सुधार ल्याउने अपेक्षा गरिएको छ । साथै, यसले स्थानीय युवालाई रोजगारीको नयाँ अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।
बागमती प्रदेशमा काठमाडौं उपत्यका आसपास, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र धादिङजस्ता जिल्लामा अन्तर्राष्ट्रियस्तरका माउन्टेन बाइक रूट विकासको सम्भावना रहेको छ । यी क्षेत्रहरूलाई लक्षित गरी ट्रेल म्यापिङ, रूट वर्गीकरण र आवश्यक पूर्वाधार विकास तयारी समेत प्रदेश सरकारले गरेको छ । “यो वर्ष हामीले माउन्टेन बाइक गाइडहरूलाई ईजाजतपत्र दिएका छौं, अर्को वर्ष रुट अन्वेषण गर्ने र यसै वर्ष पनि यसको विकास र प्रचार प्रसारका लागि एडभेन्चर फेस्टिबल गर्ने योजना छ ।” सचिव सुवेदीले भन्नुभयो । प्रदेश सरकारले आगामी दिनमा प्रदेश भित्र माउन्टेन बाइक रूट अन्वेषण गर्दै यसमा अन्तर्राष्ट्रिय स्तरको सहभागिता सुनिश्चित गर्ने योजना बनाएको छ । जसका लागि अन्तर्राष्ट्रिय माउन्टेन बाइक इभेन्ट आयोजना गर्ने, विदेशी टुर अपरेटरसँग सहकार्य बढाउने र बागमती प्रदेशलाई माउन्टेन बाइक फ्रेन्डली डेस्टिनेसनका रुपमा चिनाउने योजना बनाएको जनाईएको छ ।











