हेटौंडा, १६ पुस । राष्ट्रिय सभा सदस्य निर्वाचनकालागि हेटौंडामा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बागमती प्रदेशको राजधानी हेटौंडा स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा स्थापित निर्वाचन अधिकृतको कार्यालयको निर्वाचन अधिकृत एवम् जिल्ला अदालत मकवानपुरकी न्यायाधीश गीता श्रेष्ठले उद्घाटन गर्नुभएको हो ।
आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ । राष्ट्रिय सभामा बागमती प्रदेशबाट एक जना महिला र एक जना अन्य गरी दुई जनाको पद रिक्त रहेको छ । निर्वाचान आयोगका अनुसार निर्वाचन अधिकृतका कार्यालय हेटौँडाले पुस २२ गतेसम्ममा अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ भने पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।

पुस २७ गते दिउँसो ३ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन पाउने छ । पुस २८ गते उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिने छ । यस्तै आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदानका लागि हेटौँडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयमा दुई वटा मतदान केन्द्र तोकिएको छ । बागमती प्रदेश सभाका १ सय ९ जना सदस्यहरु र प्रदेशका १ सय १९ वटा स्थानीय तहका २ सय ३८ जना प्रमुख र उपप्रमुख गरी कुल ३ सय ४८ जना मतदाता सहभागी हुन पाउने व्यवस्था छ । मतदान सम्पन्न पश्चात मतदानस्थलमै मतगणना हुने कार्यालयले जनाएको छ ।











