हेटौंडा, १६ पुस । मकवानपुर प्रहरीले ठूलो परिमाणको लागूऔषध गाँजासहित ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका–७ मनहरी बजारबाट ५३ किलो ५७० ग्राम गाँजासहित ७ जनालाई पक्राउ गरेको हाे ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले गएराति चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०१–००६ ख ७७०१ नम्बरको यात्रुबाहक बसलाई शंका लागी रोकी खानतलासी गर्दा लुकाई–छिपाई ल्याइएको अवस्थामा ५३ किलो ५७० ग्राम गाँजा बरामद गरेको जनाइएकाे छ । प्रहरीले लागूऔषध गाँजासहित राक्सिराङ गाउँपालिका–९ अठारे घर भई हाल चितवन राप्ती नगरपालिका–१ पिप्ले बस्ने ४८ वर्षीय होमराज अधिकारी, मकवानपुर राक्सिराङ गाउँपालिका– ९ अठारे बस्ने ३० वर्षिय हिरालाल प्रजा, १९ वर्षिय सुकराम प्रजा, १९ वर्षिय राम शरण प्रजा, २५ वर्षिय विन्दु माया प्रजा, २९ वर्षकी रन्जिता प्रजा र ३० वर्षकी सुक्रमाया प्रजालाई पक्राउ गरेको छ ।
पक्राउ परेका सबैलाई लागू औषध मुद्दामा नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार लागू औषध ओसारपसार तथा कारोबारमा संलग्न अन्य व्यक्ति र सञ्जालबारे समेत अनुसन्धान अघि बढाइएको छ।