मकवानपुर । बागमती प्रदेश सरकारको श्रम तथा रोजगार नीति सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमकाबीच प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले संयुक्त रुपमा प्रदेश श्रम तथा रोजगार नीति–२०८० सार्वजनिक गर्नुभएको हो ।
हेटौंडामा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेर प्रदेश सरकारले करीब साढे २ वर्ष लगाएर तयार पारेको उक्त नीति सार्वजनिककरण गरिएको हो । प्रदेशको श्रम नीतिमा प्रतिस्पर्धी जनशक्ति विकास तथा उत्पादनमूलक क्रियाकलापका लागि अनुकुल वातावरणको सिर्जना गरी सबैलाई गुणस्तरीय रोजगारी एवम् स्वरोजगारीका अवसर प्रदान गर्ने लक्ष्य उल्लेख गरिएको छ । श्रमिकको अधिकारको रक्ष तथा श्रम प्रशासनको सुदृढीकरण गर्ने, श्रम बजारको विकास एवम् रोजगारमूलक क्षेत्रमा लगानी प्रोत्साहित गर्ने र वैदेशिक रोजगारलाई सुव्यवस्थित गर्न सहकार्य अभिवृद्धि गर्ने उद्देश्य नीतिमा उल्लेख गरिएको छ ।
कार्यक्रममा मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश सरकारले रोजगारी श्रीजना गर्ने नीति अगाडी सारेको बताउनु भएको छ । उहाँले प्रदेश सरकारले समुदायमा आधारित कृषिको मोडल बनाएर रोजगारीसंग जोड्ने बताउनुभयो । अहिले प्रदेश सरकारले १४ करोड रुपैयाँ बजेट छुट्याएर त्यसबाट २० हजार जना किसानलाई रोजगारीमा जोड्ने दावि समेत गर्नुभयो । उहाँले सबै युवाहरुलाई सिप सिकाउनेतर्फ प्रदेश सरकार लागिपरेको उहाँको भनाई थियो ।
सामाजिक सुरक्षा कोषमा सरकारको लगानी नभएको प्रति भने उहाँले आपत्ति जनाउनुभयो । ‘सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकले मात्र रकम लगानी गरेर हुँदैन सरकारको यसमा लगानी खोइ ?’ उहाँले भन्नुभयो ।
कार्यक्रममा प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लंसालले संविधानको अधिनमा रहेर मन्त्रालयले श्रम तथा रोजगार नीति ल्याएको बताउनुभयो । श्रमिकहरुको विकासले मात्र राष्ट्रको विकास हुने उहाँको भनाई थियो । उहाँले प्रदेश रोजगार नीतिले वैदेशीक रोजगारमा जानेहरुलाई समेत स्वदेशमै स्वरोगार बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नीतिको कार्यान्वयनका लागि मन्त्रालयले नीयम, कानून र मापदण्ड बनाएर अगाडी बढ्ने बताउनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिब तिर्थराज भट्टराइले प्रदेशको श्रम तथा रोजगार नीतिका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष नरविक्रम थापा लगायतकाको उपस्थिती थियो ।