वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएका उमेद्वारहरु प्रचार–प्रसारमा केन्द्रित भएसँगै निर्वाचन आयोगले आचार संहिताको पालना भए/नभएको अनुगमनमा जोड दिएको छ । निर्वाचन आयोगले वैशाख १७ गते उम्मेदवारी दर्तासम्बन्धी सम्पूर्ण काम पुरा गरी निर्वाचन चिन्ह प्रदान गरेसँगै सबै उमेद्वारहरू निर्वाचनको प्रचार–प्रसारमा केन्द्रित भएका छन् ।
निर्वाचन आयोगमा यस बिचमा विभिन्न ३१ वटा आचारसंहिता उलङ्घनका उजुरीहरू प्राप्त भएको र विभिन्न सङ्घ–संस्था एवं व्यक्तिहरू गरी २१ वटा उजुरीमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । आचार संहिताको पालना भए/नभएको अनुगमन गर्न स्थानीय तहमा गठन भएका अनुगमन समितिहरू निरन्तर क्रियाशील रहेको र आचारसंहिता विपरीतका गतिविधिहरू नियन्त्रणको प्रयास भइरहेको निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो । आयोगले विभिन्न ठाउँबाट निर्वाचन आचार संहिता विपरीत छापिएका विभिन्न राजनीतिक दलका झन्डा, पर्चा, तुल, ब्यानर लगायतका प्रचार सामग्रीहरु जफत समेत गरेको आयोगका सहसचिव भट्टराईले बताउनुभयो । यस्तै आयोगले आचार संहिता विपरीतका सामग्रीहरु प्रयोग गरेको वा पोस्टर टाँस्ने, तुल, ब्यानर झन्डा आदि राख्ने गरेको पाइएमा सम्बन्धित दल तथा उमेद्वारहरुलाई नै हटाउन निर्देशन दिने गरेको छ ।