मकवानपुर– नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य एबम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपाली काँग्रेसको चिन्तन अझै नसुध्रिएकाले पछाडि पर्दै गएको बताउनु भएको छ । तत्कालीन काँग्रेस नेता विपी कोइरालाले भित्तामा गाईको चित्र टाँसेर सबैको घरमा घाई होस् र सबैले दूधभात खान पाउने वातावण बनोस् भनेर सुरु गर्नुभएको काँग्रेसको राजनीतिक यात्राको गति अहिले पनि पुरानै अबस्थामा रहेका उहाँले बताउनुभयो । ‘समय र परिस्थिति अनुसार काँग्रेस फेरिन नसकेकाले पुरानै चालले हिँड्दैछ’, नेता पाण्डेले भन्नुभयो–‘त्यही भएर काँग्रेससँग जनताले समृद्धिको आशा गरेका छैनन् ।’

नेपाल कम्युनिष्ट पार्टी मनहरीले आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रममा उत्साहका साथ प्रस्तुत भएका पाण्डेले राजनीतिमा युवाहरु बिग्रँदै गएको पनि सुनाउनुभयो । उहाँले राजनीतिक मुद्दामा १४ बर्ष जेल बस्न सक्ने प्रधानमन्त्री भएको पार्टीका युवाहरु अनैतिक मुद्दामा २ घण्टा प्रहरी हिरासतमा बस्न समेत आँत्तिने गरेको सुनाउनुभयो । ‘प्रहरी हिरासतबाट छुटाउने भए छुटाउनुस् नत्र पार्टी छोड्छु’ भन्नेहरुको जमात बढ्दै गएकाले राजनीति नै असुरक्षित र असन्तुलित भएको उहाँको तर्क थियो ।

एक अर्काे प्रसंगमा उहाँले युवाहरु समृद्धिसँग जोडिन नसके समृद्धि नारामै सीमित हुने बताउनुभयो । अध्ययनलाई प्राथमिकता दिँदै जुनसुकै किसिमको शिक्षालाई निःशुल्क गरी व्यवहारिकतातर्फ ढाल्नेगरी शैक्षिक वातावरण बनाउनुपर्ने उहाँको भनाई थियो । प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य केदार न्यौपानेले माक्र्सवादी जनप्रतिनिधिहरु समेत अनावश्यक ठाउँहरुमा गएर सप्ताह र महायज्ञ उद्घाटन गर्दै हिँडेकोप्रति व्यंग्य गर्नुभयो ।

अर्का केन्द्रीय सदस्य रामेश्वर राना, प्रदेश कमिटी सदस्य एबम् प्रदेश सांसद ओमबहादुर ग्लान, जिल्ला कमिटी सचिव प्रेमबहादुर पुलामीले पनि जनप्रतिनिधिहरु पार्टीबीचको सम्बन्धका बारेमा प्रशिक्षण दिनुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी मनहरीको आयोजना तथा ७ नं वडा कमिटीको व्यवस्थापनमा भएको दुई दिने आवासीय प्रशिक्षणमा १५० जना बढीले माक्र्सवादी शिक्षा ग्रहण गरेको सचिवालय सदस्य नवीन सुवेदीले जानकारी दिनुभयो । प्रशिक्षणको उद्घाटन बरिष्ठ नेता एबम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मंसीर २० गते गर्नुभएको थियो । सो अबसरमा १३७ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको थियो ।