फाइल तस्विर

हेटाैंडा– कोरोना भाइरसको संक्रमणबाट आज थप ११ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३७ पगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानमा गरी १० जना पुरुष र एक जना महिलाको मृत्यु भएको जानकारी दिनुभयो ।

आज काठमाडौँमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ गरी काठमाडौं उपत्यकामा थप १ सय ८२ सहित ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ३० हजार ४ सय ८३ पुगेको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा २ सय ५० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै उपचारपछि निको हुनेको सङ्ख्या १८ हजार २ सय १४ पुगेको छ ।

प्रवक्ता प्रा.डा. गौतमले एक जनाको कोरोना परीक्षण र उपचारको लागि करीब १ लाख ४ हजार लाग्ने र हालसम्म ५ लाख ७९ हजारभन्दा बढीको पी सी आर परीक्षणमा ३ अर्ब १८ करोड ९४ लाख रुपियाभन्दा बढी खर्च भएको जानकारी दिनुभयो । कोरोना भाइरसको परीक्षण तथा उपचारको खर्च अत्यन्तै खर्चिलो भएको हुँदा स्वास्थ्य सावधानी अपनाएर सुरक्षित रहन प्रवक्ता डा. गौतमले अग्रह गर्नुभयो । स्वास्थ्य मन्त्रालयले यस पटकका चाडपर्व जमघट र भिडभाड नगरी घरका परिवारबीच स्वास्थ्य सुरक्षाका उपय अवलम्बन गरेर मनाउन आग्रह गरेको छ ।