मकवानपुर – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०७८/०७९ मा मकवानपुरका २९ वटा सामुदायिक विद्यालयहरू छनोटमा परेका छन् । विद्यालयको प्रस्तावना तथा स्थानीय तहको सिफारिसको आधारमा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले ती विद्यालयहरुको विवरण शिक्षा विभागमा पठाएको थियो । ती मध्ये २९ वटा विद्यालयहरु छनोट हुन सफल भएका हुन् । शैक्षिक सुधारका लागि छनोटमा परेका मध्ये २८ वटा विद्यालयमा आइसीटी ल्याब, एक विद्यालयमा प्राविधिक ल्याब र एक विद्यालयको भवन निर्माण हुने भएको हो ।
जिल्लामा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाभित्रका विद्यालयमा कार्यक्रम लागु हुने भएको छ । हेटौंडाको आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रलाई चार कोठे भवन निर्माण गर्न ३६ लाख प्राप्त भएको छ । यस्तै हेटौंडाको प्रगति मावि, महेन्द्र किरण मावि, महेन्द्र मावि, जनजागृति मावि, बालबोध मावि, ज्योति मावि, अमर मावि र अरनिको माविमा आइसीटी ल्याब स्थापनाका लागि छनोटमा परेका हुन् । यी सबै विद्यालयले ६ लाख ५० हजार रुपैयाँका दरले रकम पाउने शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमले जानकारी दिनुभयो ।
यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत जिल्लाको थाहा नगरपालिकाको बागेश्वरी मावि, सुनौला मावि, इन्द्रायणी मावि, स्वच्छन्दभैरव मावि आइसीटी ल्याब स्थापनाका लागि छनोटमा परेका छन् । यस्तै बागमती गाउँपालिकाको देवकी मावि, सूर्य मावि र जनता मावि, बकैया गाउँपालिकाको कर्मप्राप्ति मावि, महेन्द्र मावि, बुद्ध मावि, बाघभैरव मावि, कालिका मावि, कालीदेवि मावि, कैलाश गाउँपालिकाको कालिका मावि, इन्द्रसरोबर गाउँपालिकाको पञ्चकन्या मावि, भीमफेदी गाउँपालिकाको लेकाली बसीफाँट र मनहरीको युवावर्ष आधारभूत विद्यालय छनौटमा परेको उहाँले बताउनुभयो ।
यस्तै जिल्लाको मकवानपुरगढी गाउँपालिकाको प्राविधिक शिक्षालय समेत संचालन गरेको बंशगोपाल मावि छनोटमा परि प्राविधिक ल्याब स्थापना गर्न १० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । भने मकवानपुरगढीकै जनक मावि आइसीटी ल्याब स्थापनाका लागि छनोटमा परेको छ । जिल्लाकै विकट राक्सिराङ गाउँपालिकाको भने कुनैपनि विद्यालयल राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा परेको छैन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत देशभरका चार हजार एकसय ५७ सामुदायिक विद्यालय छनोट भएका छन् । छानौट भएका मध्ये चार कोठे भवन नौ सय ७६, दुई कोठे भवन नौसय ६६, आइसीटी ल्याब व्यवस्थापन दुई हजार एकसय ६, प्राविधिक ल्याब ८८ र २१ वटा नयाँ प्राविधिक विद्यालय स्थापना गरिने भएको हो ।