मकवानपुर– आगामी भदौ १३ गते अनलाई मार्फत राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । जेसीआई हेटौंडा र मकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा राष्ट्रव्यापी अनलाइन बुद्धिचाल प्रतियोगिता हुन लागेको हो ।
जेसीआई हेटौंडाको जेसीज सप्ताह २०२० अन्तर्गत पहिलो दिनको कार्यक्रमको रुपमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा देशभरका एक सयभन्दा बढी संख्यामा प्रतियोगीको सहभागिता रहने बागमती प्रदेश बुद्धिचाल संघका कोषाध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
प्रतियोगितामा विभिन्न उमेर समूह, महिला तथा खुला गरी कुल २४ जना पुरस्कृत हुनेछन् । स्विस लिगको आधारमा ११ राउण्डमा हुने प्रतियोगितामा पुरस्कार वापत २१ हजार पाँच सय रुपैयाँ वितरण हुने बताइएको छ । कोरोनाको प्रभावका कारण यस वर्ष जेसीजले जेसीज सप्ताह पनि अनलाइनमार्फत नै गर्न लागेको उहाँले जानकारी दिनुभएको छ । कोरोनाको कहरका बीचमा पनि अनलाइनमार्फत बुद्धिचाल प्रतियोगिताले खेलाडीलाई पुनर्ताजगी गर्नुका साथै मानसिक रुपमा स्फूर्त रहन प्रेरित गर्ने उहाँले बताउनुभयो । प्रतियोगितामा उल्लेख्य सङख्यामा व्यावसायिक खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको भण्डारीले बताउनुभयो ।