बालविवाह अन्त्यका लागि बहुपक्षीय प्रादेशिक कार्यशाला हेटौंडामा भएको छ । राष्ट्रिय मानव अधिकार आयोग र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय महाअभियानको आयोजनामा कार्यक्रम भएको हो । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्बर ३ का निर्देशक यज्ञ प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बालविवाहको अवस्था र अन्त्यका लागि गर्नु पर्ने कामका बिषयमा छलफल भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलाल, थाहा नगरपालिकाका मेयर लबशेर बिष्टलगायत विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।