मकवानपुर – हेटौंडामा जारि चौथो संस्करणको स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको फाईनल खेल भोलि सोमबार हुँदै छ । उपाधिका लागि भोलि साविक विजेता समेत रहेको विभागिय टोली त्रिभुवन आर्मी क्लब र साविक उपबिजेता घरेलु टोली विजय युथ क्लब आमने–सामने हुने भएका हुन् ।
भोली हुने फाईनल खेलमा दुवै टोलीले उपाधि हात पार्ने दावि गरेका छन् । आयोजक जिल्ला फुटबल संघ मकवानपुरले गरेको प्रि–म्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधी हात पार्ने दाबी गरे । त्रिभुवन आर्मीका प्रशिक्षक नवीन न्यौपाने र कप्तान भरत खवासले उपाधी रक्षा गर्ने दाबी गरेका छन् । उनिहरुले आफ्नो टोलीमा हेटौंडामा भएको यसपटक गोल्डकपमा नयाँ खेलाडीहरुलाई मैदानमा उतार्दा पनि उत्साहजनक खेल खेल्दै फाईनलमा पुगेको बताउँदै यसपटकको उपाधी पनि आर्मीलेनै जित्ने दाबी गरे ।
त्यस्तै घरेलु टोली विजय युथका प्रशिक्षक विजयलाल श्रेष्ठ र कप्तान अशोक बरालले भोलिको फाईनल खेलको लागि आफुहरुले रणनीति तयार पारिसकेको र घरेलु टोलीको लागि दर्शकको साथ पनि हुने भन्दै उपाधी जित्नेमा विश्वस्त रहेको प्रतिकृया दिएका छन् ।
भोलि अपरान्न ३ः३० बाट सुरु हुने खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने देखिएको छ । भोलि हुने फाईनल खेलको विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छ । प्रतियोगितामा सर्वोकृष्ट खेलाडीलाई बुलेट बाइक प्रदान गरिने छ भने विद्यागत उत्कृष्ट खेलाडीलाइ २५ हजार र खेलमा म्यान अफ दि म्याच खेलाडीले १० हजार प्राप्त गर्ने आयोजक जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ ।
जिल्ला फुटबल संघ मकवानपुरले २०६२–०६३ को जनआन्दोलनका सहीदहरुको स्मृतिमा २०६४ सालमा हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । उक्त पहिलो पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो । त्यसपछि २०७५ मा भएको दोस्रो संस्करण घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । भन,२०७६ मा भएको तेस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।