मकवानपुर – हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को फाइनल आज हुँदै छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा उपाधिका लागि साविक विजेता त्रिभुवन आर्मी क्लब र साविक उपविजेता घरेलु टोली विजय युथ क्लबबीच प्रतिस्पर्धा हुँदै छ ।
फाइनल पुग्न आर्मीले एपीएफ क्लब र विदेशी टिम एभिनियर एफसीलाई पराजित गरेको थियो । दुवै टिमलाई आर्मीले पेनाल्टीमा पराजित गरेको हो । यता घरेलु टोली विजय युथ नवजनजागृति युवा क्लब र नेपाल पुलिस क्लबलाई पराजित गरेर फाइनल पुगेको हो ।
आज साविक विजेता आर्मी उपाधि रक्षा गर्ने दाउमा मैदान उत्रने छ । भने, साविक उपविजेता विजय युथ गत वर्षको बदला लिने दाउमा मैदान उत्रने छ । दुवै टोलीका प्रशिक्षकले प्रि–म्याच कन्फ्रेन्समा उपाधि जित्ने दाबी गरेका छन् ।
हिजो भएको कन्फ्रेन्समा आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भन्नुभयो – ‘हाम्रा नौ जना खेलाडी राष्ट्रिय टोलीमा रहेका छन् । जसका कारण हामीले नयाँ खेलाडी प्रयोग गरिरहेका छौं । उनीहरूले राम्रो खेलिरहेका छन्, उपाधि जित्नेमा हामी ढुक्क छौं ।’ आर्मीका कप्तान भरत खवासले हाम्रा खेलाडी फाइनलका लागि तयार रहेको बताउनुभयो । ‘हाम्रा सबै खेलाडी फिट छन् । विजय युथसँग प्रतिस्पर्धा गर्न तयार छौं ।’ उहाँले विजय युथलाई स्थानीय टोली भएको फाइदा भए पनि आफुहरू उपाधि रक्षा गरेरै छाड्ने दाबी गर्नुभयो ।
विजय युथका प्रशिक्षक विजयलाल श्रेष्ठले फाइनल खेलका लागि आफ्नो टोलीले छुट्टै रणनीति तयार गरेको बताउनुभयो । उहाँले डिफेन्स लाइनलाई बलियो बनाउन एक जना खेलाडी परिवर्तन गरिने समेत बताउनुभये । विजय युथका मुख्य डिफेन्डर विदेशी खेलाडी पेपे दोहोरो पहेँलो कार्डका कारण फाइनल खेल्नबाट वञ्चित भएका छन् । उनको स्थानमा अर्का विदेशी खेलाडी खेलाउन लागिएको उहाँले बताउनुभयो । विजय युथका कप्तान अशोक बरालले आर्मी बलियो टोली भए पनि च्याम्पियन बन्ने गरी आफूहरूले तयारी गरेको बताउनुभयो । ‘आर्मीको तुलनामा हाम्रा खेलाडी अनफिट देखिएका छन् । तर, हामी खेल जित्छौं । हामी शतप्रतिशत शक्ति लगाएर खेल्नेछौं,’ उहाँले भन्नुभयो ।