नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को काठमाडौँमा जारी स्थायी कमिटीको बैठकमा आज १८ जना सदस्यहरूले आफ्नो भनाई राख्नु भएको छ । बैठकमा नेपाल र भारत बिचको सीमा सम्बन्धी समस्याका बारेमा छलफल भएको र आज बोल्ने सदस्यहरूले कूटनैतिक पहल र वार्ताको माध्यमबाट भारतसँगको सीमा समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको बैठकपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

Image may contain: one or more people, people sitting, table and indoor

बैठकमा बोल्ने सदस्यहरूले नेपालको सम्पूर्ण भू–भाग समेटिएको नक्सा प्रकाशन र संविधान संशोधनमा देखिएको राष्ट्रिय एकतालाई कायम राख्दै सीमा सम्बन्धी सबै समस्या समाधानको पहल गर्न सुझाव दिनुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । प्रवक्ता श्रेष्ठले दिनुभएको जानकारी अनुसार बैठकको सुरूवातमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले भारतसँगको सीमा समस्या समाधानका लागि भएको प्रयास र पछिल्लो घटनाक्रमका बारेमा जानकारी दिनुभएको थियो ।

Image may contain: people sitting, table and indoor

परराष्ट्र मन्त्री ज्ञवालीले सरकारले कूटनैतिक माध्यमबाट भारतसँगको सीमा समस्या समाधानका लागि पहल गरिरहेको भए पनि भारतको तर्फबाट आवश्यक तत्परता नदेखाएका जानकारी दिनुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा परराष्ट्र मन्त्री ज्ञवालीले अहिले चीनसँग कुनै समस्या नरहेको समेत बैठकलाई जानकारी दिनुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठले दिनुभएको जानकारी अनुसार आजको बैठकमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीका अतिरिक्त लिलामणी पोखरेल, मातृका यादव, देव गुरुङ, गोकर्ण विष्ट, शङ्कर पोखरेल, पम्फा भुसाल, छविलाल विक, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृत बोहोरा, भीम रावल, मुकुन्द न्यौपाने, भीम आचार्य, अष्टलक्ष्मी शाक्य, गणेश शाह, केशव बडाल र नारायणकाजी श्रेष्ठले आफ्ना भनाइहरू राख्न भएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक भोलि (शनिवार) बिहान ११ बजे पुनः बस्ने छ ।