बोरिस जोनसन बेलायतको नयाँ प्रधानमन्त्री बन्ने हुनु भएको छ । सत्तारुढ दल कन्जरभेटिभको संसदीय दलको नेतामा चयन भएसँगै जोनसन बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको हो । अर्का प्रत्यासी वर्तमान विदेशमन्त्री जेरेमी हन्टलाई दोब्बर मतान्तरले हराउँदै पूर्व विदेशमन्त्री जोनसन कन्जरभेटिभ पार्टीको नेता चयन हुनु भएको हो । बेलायतमा सत्तारुढ दलको संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था छ । १ लाख ६० हजार पार्टी सदस्यले गरेको मतदानमा जोनसनको पक्षमा ९२ हजार १ सय ५३ र जेरेमी हन्टको पक्षमा ४६ हजार ६ सय ५६ मत खसेको थियो । 

भोलि प्रधानमन्त्री टेरेजा मेले राजीनामा दिएपछि तत्कालै जोनसनले पद सम्हाल्ने बीबीसीले उल्लेख गरेको छ । युरोपेली युनियनसँग भएको बहिर्गमन सम्बन्धी सम्झौता बेलायती संसदबाट पारित गर्न नसकेपछि प्रधानमन्त्री मेले संसदीय दलको नेताबाट राजीनामा दिनुभएको थियो । जित पछि लण्डन शहरका पूर्व मेयर समेत रहेका जोनसनले युरोपेली युनियनबाट बेलायतको बहिर्गमनलाई टुङ्गोमा पुर्‍याउने बताउनुभएको छ । ३१ अक्टोबर सम्ममा ब्रेक्जिट प्रक्रियालाई टुंगोमा पुर्‍याउने बोरिस जोनसनको भनाई छ । बोरिस जोनसनले प्रधानमन्त्री टेरेसा मेको सरकारमा विदेशमन्त्रीको भूमिका समेत निभाएका थिए । प्रधानमन्त्री मेसँगको मतभेदपछि पदबाट राजीनामा दिएका जोनसन पछि जेरेमी हन्ट विदेश मन्त्री बनेका हुन् ।