हेटौंडा– कोरोना भाइरस कोभड–१९ संक्रमणको सम्भावित जोखिमलाई ख्याल गर्दै थोरै कैद भुक्तानी गर्न बाँकी रहेका पाँच बालकसहित सात जनालाई मकवानपुरले जिल्ला अदालतले जेलबाट मुक्त गर्ने आदेश दिएको छ । सवारी ज्यान र लागुऔषध, बालबिज्याइँको आरोपमा कैद भुक्तात गरिरहेका पाँच जना बालकहरुलाई बाँकी कैद मिनाहा गर्नेगरी न्यायधीश दिल्लीरत्न श्रेष्ठको इजलाशले छोडेको स्रेस्तेदार केशवराज कौशिकले जानकारी दिए । ‘बालक भएका कारणले उनीहरुलाई बाँकी रहेको कैदको रकम भुक्तानी गर्न लगाइएन,’ उनले भने । बहुविवाह गरेको ठहर गर्दै अदालतले एक वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना गर्ने फैसलाअनुरुप हेटौंडा उपमहानगरपालिका–१८ का अजय स्याङ्तान कारागारमा थिए । उनले कैद भुक्तानी गर्नुपर्ने तीन महिना बाँकी थियो । त्यही तीन महिनाको २७ हजार र फैसलाअनुरुप १५ हजार रुपैयाँ जरिवाना तिरेर जेलबाट छुटकारा पाएका छन् । त्यसैगरी, हेटौंडा–१ का सुरज केशरी पनि जेलबाट मुक्त भएका छन् । बालयौन दुरुपयोगमा उनी जेल परेका थिए । कैद भुक्तानी गर्न उनले एक महिना १९ दिनमात्र बाँकी थियो । बाँकी कैद बराबरको रकम तिरेर उनी पनि जेलमुक्त भएका हुन् ।विपद्को विषम परिस्थितिमा कारागारमा रहने कैदीबन्दीको भीडभाड कम गर्ने प्रयोजनार्थ मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ अनुसारको कैदवापत रकम लिई कैद मिनाहा गरिएको हो । अदालतले एक वर्षभन्दा कम कैद सजाय तोकिएका, आचरण राम्रो भएका र कैद भुक्तानी थोरै भएकालाई आवश्यक प्रक्रिया पुर्याएर अदालतको आदेशबाट जेलमुक्त गरिएको कारागारले जनाएको छ ।