सूर्यको उपासना गरेर मनाइने छठ पर्वको दोस्रो दिन आज साँझ व्रतीले ‘खरना विधि’ गर्दैछन् । आज बिहान नदी तलाउ वा सरोवरमा स्नान गरेर नयाँ वस्त्र धारण गरि दिनभरि निराहार बसेर साँझ पख आफैँले तयार पारेको सख्खरको खीर,पुरी केलासहितका प्रसाद छठी मैयाँलाई अर्पण गर्ने गरिन्छ ।
आजकाे दिन बिहानै घर आँगनको सफाइ गरी व्रत गरी बेलुकी सखरमा पकाएको खीर खाइन्छ । यस दिन ठेकुवा, भुसुवाजस्ता परिकार पनि बनाइन्छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला,स्याउआदिको बढी प्रयोग गरिन्छ ।
छठ पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीमा भोलि नीराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ । कार्तिक शुक्ल सप्तमीका दिन बिहान सोमबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि चार दिन लामो सूर्य आराधनाको पर्व छठ समापन हुन्छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवं छठी माताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्यदान गरेमा मनले चिताएको पूरा हुने कुरा सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।
सूर्यका दुई श्रीमती छाया र संज्ञा कार्तिक शुक्ल षष्ठी र सप्तमीका दिनमा अस्ताउँदो र उदाउँदो सूर्यसँगै आउने भएकाले छठी माताका रुपमा पूजा आराधना गर्ने परम्परा बसेको धार्मिक विश्वाससमेत छ ।