प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रमले हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने काम गरेको उल्लेख गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।
जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि शनिबारसम्म छलफल चलेको थियो। छलफल सकिएपछि प्रधानमन्त्री देउवाले छलफलमा उठेका प्रश्नको जवाफ दिनुभएको हो। जवाफ दिनेक्रममा प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘सरकारको नीति तथा कार्यक्रमले हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने काम गरेको छ।’’ प्रधानमन्त्री देउवाले सरकारको नीति तथा कार्यक्रमले उत्पादन, उपादकत्व र आय वृद्धिसँगै पूर्वाधार निर्माणका विषयलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको छ । देशको वित्तीय नीति र आर्थिक तरलताको व्यवस्थापनमा सरकारले ध्यान दिएको प्रधानमन्त्री देउवाले बताउनुभएको छ। सामाजिक सुरक्षाका कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने उहाँको भनाइ छ। नीति तथा कार्यक्रमले पीडितलाई न्याय दिने र शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने विषय प्रष्टसँग उल्लेख गरेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री देउवाले सरकारले पाठ्यपुस्तकको सहज आपूर्ति मिलाएको बताउनुभएको छ। सरकारले आर्थिक तरलतालाई मध्यनजर गर्दै उपादकत्व बढाएर खाद्य सुरक्षाको व्यवस्थापनका लागि भण्डारको व्यवस्था गर्ने विषयलाई महत्व दिएको उहाँले प्रष्ट पार्नुभएको छ । प्रधानमन्त्री देउवाले उत्पादकत्व बढाएर व्यापार घाटा कम गर्ने नीति अगाडि बढाएको बताउनुभएको छ । ‘‘उत्पादकत्व वृद्धि गरेर व्यापार घाटा कम गर्ने नीति सरकारले अगाडि बढाएको छ’’, प्रधानमन्त्री देउवाले भन्नुभयो। अर्थतन्त्रको दिगो विकासका लागि उत्पादकत्व बढाउनु पर्नेमा उहाँले जोड दिनुभएको छ । विकासका काम र कार्यप्रणाली सुधार गर्ने नीति सरकारले अगाडि सारेको उहाँको भनाइ छ । ‘‘विकासका कार्यलाई समयमै सम्पन्न गर्न आवश्यक नीति तथा कार्यप्रणालीमा सुधार गर्ने कुरालाई नीति तथा कार्यक्रमलाई समेटिएको छ’’, प्रधानमन्त्री देउवाले भन्नुभयो ।
प्रधानमन्त्री देउवाले निजगढ विमानस्थलको विषयमा सम्मानित अदालतको फैसला अनुसार आवश्यक निर्णय लिने उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री देउवाले नीति तथा कार्यक्रममा उल्लेख गरिएका तथ्यांकको विश्वसनीयतामा शंका नगर्न प्रतिनिधिसभा सदस्यलाई आग्रह गर्नुभएको छ। सँगै प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रणमा सरकारको प्रतिवद्धता कुनै सरकारको भन्दा कम नभएको दाबीसमेत गर्नुभएको छ । प्रधानमन्त्री देउवाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुभएसँगै नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ ।