मकवानपुर – हेटौंडामा बुधबार पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति सुशील कोईरालाको सातौं स्मृति दिवश मनाईएको छ । काङ्ग्रेस मकवानपुरले बुधबार स्मृतिसभाकाे आयोजना गरेर स्वर्गीय कोइरालाको तस्वीरमा माल्यार्पण साथै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेर स्मृति दिवश मनाएको हो ।
स्मृति सभामा कांग्रेस सहमहामन्त्री डिनाले सुशील कोइराला नेतृत्वको सरकारले २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान २०७२ जारी गरेको बताउनुभयो । संविधान निर्माणमा अगुवाई गर्नुभएकोले उहाँलाई नेपालको संविधानको पिताको रुपमा लिनुपर्ने नेतृ डीनाको भनाइ थियो ।
यस्तै कांग्रेस नेता निमा लामाले नेपाली काङ्ग्रेसको त्यागी नेता सुशील कोइरालाले देशको संविधान र पार्टीलाई दिनुभएको योगदानलाई सम्झनुपर्ने बताउनुभयो । कोइरालाको कार्यकालमा नेपालको संविधान जारी गर्न सफल भएको उहाँले दावी गर्नुभयो । नेपालको ३७ औं प्रधानमन्त्री बन्नु भएका भएका कोइरालाको २०७२ माघ २६ गते काठमाडौंमा निधन भएको थियो । कोइराला २०७० माघ २७ गतेदेखि २०७२ असोज २३ गतेसम्म नेपालको प्रधानमन्त्री पदमा रहनु भएको थियो । काङ्ग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षता स्मृति सभाको आयोजना गरिएको थियो ।