हेटौंडा । मकवानपुरका दश वटै स्थानीय तहमा मतदान केन्द्र तयार भएको छ । भोली सुक्रबार यहाँका ३ सय ६५ मतदान केन्द्रबाट नागरिकले भोट हालेर आफ्ना प्रतिनिधि चयन गर्दै छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका सहित दश वटै स्थानीय तहमा मतदान केन्द्रहरु तयार भएको हो । निर्वाचनलाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि मतदान केन्द्रमा खटिएका अधिकारीहरुले स्थानीय स्तरमा राजनीतिक दलका प्रतिनिधिहरुसँग समन्वय गर्ने काम भइरहेको बताएका छन् ।
मकवानपुरका दश वटै स्थानीय तहमा मतगणनास्थलको तयारी पनि सकिइसकेको मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले बताउनुभयो । मकवानपुरमा १ सय ६५ वटा मतदानस्थल रहेका छन् । यस्तै मकवानपुर जिल्लाका सबै स्थानीय तहमा निर्वाचनको सबै तयारी पुरा भएको मतदान अधिकृतहरुले बताएका छन् । मकवानपुरको १० पालिकाका १ हजार ९ सय भन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् । मेयरमा २४, अध्यक्षमा ५०, उपमेयरमा १२, उपाध्यक्षमा ३२, वडाअध्यक्षमा ४३५, खुल्ला वडासदस्यमा ७२८, महिला वडासदस्यमा ३ सय ५० र दलित महिला वडासदस्यमा ३०० जना उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ ।
जिल्लामा एक उपमहानगरपालिका, एक नगरपालिका र आठ गाउँपालिका रहेको छ । जहाँ १ सय २ वटा वडाहरु रहेका छन् । ५ सय ३० पदका लागि विभिन्न दलका र स्वतन्त्र गरेर १ हजार ९ सय ३१ जना उम्मेदवार भएका छन् । बैशाख ११ र १२ गते २ हजार ६७ जनाले मनोनयन दर्ता गरेका थिए । जसमध्ये १ सय ३६ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । ६ जना दलित महिला वडासदस्य निर्विरोध निर्वाचित भएका छन् । जिल्लामा २०७४ को तुलनामा यसपटक उम्मेदवारको संख्या घटेको छ । यस चुनावमा महिला उम्मेदवारको संख्या १ सय ३८ ले घटेको हो । गत चुनावमा मकवानपुरका १० पालिकामा २ हजार २ सय ६ उम्मेदवारहरु प्रतिस्पर्धामा उत्रिएका थिए । गत र यस चुनावमा उम्मेवादरको अन्तर २ सय ७५ छ । जिल्लामा गत निर्वाचनमा भन्दा यसपटक महिला उम्मेदवारहरुको सङ्ख्या घटेको छ । यस निर्वाचनमा विभिन्न पदमा ७ सय २१ महिला उम्मेदवार बनेका छन् । गत निर्वाचनमा ८ सय ५९ महिला उम्मेदवार बनेका थिए । यसपटकको चुनावमा महिला उम्मेवादरका सङ्ख्या १ सय ३८ ले घटेको छ । त्यस्तै प्रमुख पदमा महिला उम्मेदवारको सङ्ख्या बढेको छ भने अन्य पदमा महिलाको उम्मेदवार बढेको छैन । प्रमुख पदमा महिला उम्मेदवारी तीन जनाले बढेको छ भने उपप्रमुखमा १७ ले घटेको छ । वडाअध्यक्षमा महिलाको उम्मेदवारी घटबडढ भएको छैन । त्यस्तै वडासदस्यतर्फ खुल्लामा ४, महिलामा ६५ र दलित महिलामा ५५ ले उम्मेदवार सङ्ख्या घटेको छ । यसपटकको निर्वाचनमा अध्यक्ष/प्रमुखमा ६, उपप्रमुख/उपाध्यक्षमा २७, वडा अध्यक्षमा १०, वडासदस्य तर्फ खुल्लामा २८, दलित महिलामा ३ सय, महिलामा ३ सय ५० उम्मेदवार बनेका छन् । यसअघि मेयर/अध्यक्षमा ३, उपअध्यक्ष/उपमेयरमा ४४, वडाअध्यक्षमा १०, वडासदस्य तर्फ खुल्लामा ३२, महिलामा ४ सय १५ र दलित महिलामा ३ सय ५५ उम्मेदवार थिए । जिल्लाको १० पालिका मध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा ९७ पदका लागि ३ सय ८७ जनाको उम्मेदवारी परेको छ । सबैभन्दा कम इन्द्रसरोबर गाउँपालिकामा २७ पदका लागि ८९ जनाको उम्मेदवारी परेको छ । थाहा नगरमा २ सय ४०, बकैयामा २ सय ३४, मनहरीमा २ सय २१, बागमतीमा १ सय ६७, राक्सिराङमा १ सय ५१, भिमफेदी गाउँपालिकामा १ सय ३५, कैलाशमा १ सय ७३ र मकवानपुरगढीमा १ सय ३४ जना उम्मेदवार भएका छन् । जिल्लामा १६५ मतदानस्थल र ३५६ मतदान केन्द्रबाट मतदान हुने छ । दुई लाख ९४ हजार ९१९ मतदाताले मतदान प्रक्रियामा सहभागिता जनाउन पाउने छन् ।