मकवानपुर – मकवानपुर प्रहरीले जिल्लामा गाँजा र अफिम खेती नष्ट गर्ने कार्य जारी राखेको छ । बिहीबारदेखि सुरु गरेको गाँजा र अफिम खेती नष्ट गर्ने कार्य शुक्रबार पनि जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शुक्रबार प्रहरीले राक्सिराङ गाउँपालिका–४ को राक्सिराङ र डुमदार क्षेत्रमा लगाईएको १४ बिगाहा अफिम खेती र ५ बिगाहा गाँजा खेती नष्ट गरेको जनाएको छ । बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त रुपमा प्रहरी निरीक्षक सुमन बानियाँको कमाण्डमा खटिएको ६० जनाको प्रहरी टोलीले बिहीबारबाट लागुऔषध फँडानी कार्य सुरु गरेको हो ।

प्रहरीले हिजो बिहीबार राक्सिराङ गाउँपालिका–४ र ५ को रानीवन, बाङकिङ, ताङद्राङ, रानीघाटमा लगाइएको २० बिगाहा गाँजाखेती र ५ विगाहा अफिम खेती नष्ट गरेको थियो । प्रहरीले भोलि शनिबारसम्म लागुऔषध फँडानी गर्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।