स्थानीय तहमा जनप्रतिनिधि छान्नको लागि आज मतदान हुँदैछ । मतदानको दिन आज मकवानपुर जिल्लाका दश वटा स्थानीय तहका ३ सय ६५ वटा मतदान केन्द्रबाट दुई लाख ९४ हजार ९१९ मतदाताले मतदान प्रक्रियामा सहभागिता जनाउदैछन् । जसमध्ये १ लाख ४ ९ जना पुरुष , १ लाख ४४ हजार ९ सय ५९ जना महिला तथा ६ जना तेस्रो लिङ्गी रहेको निर्वाचन आयोग बागमती प्रदेश कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ । हेटौंडामा मात्र १ लाख ४ हजार ४ सय ५० जना मतदाता रहेका छन् । यस्तै, थाहा नगरपालिकामा ३२ हजार ३ सय ७ जना मतदाता रहेका छन् । बकैया गाउँपालिकामा २९ हजार ९ सय ४३ जना, बागमती गाउँपालिकामा २२ हजार ४० जना मतदाता रहेका छन् ।
यस्तै भीमफेदी गाउँपालिकामा १७ हजार ४ सय २८ जना, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय १८ जना, मनहरी गाउँपालिकामा २७ हजार ७ सय २१ मतदाता रहेका छन् । राक्सिराङ गाउँपालिकामा १५ हजार ८ सय ३२ जना, ईन्द्रसरोवर गाउँपालिकामा १२ हजार ४ सय ७१ जना र कैलाश गाउँपालिकामा १४ हजार ५ सय ४७ मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जानकारी दिएको छ । मकवानपुरमा ३ सय ६५ वटा मतदान केन्द्र रहेका छन् । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म आफ्नो नाम भएको मतदान केन्द्रमा गएर मतदान गर्दै छन् । चुनावका लागि मकवानपुरमा १ हजार ९ सय जना उम्मेदवार चुनावी मैदानमा छन् । मेयरमा २४, अध्यक्षमा ५०, उपमेयरमा १२, उपाध्यक्षमा ३२, वडाअध्यक्षमा ४३५, खुल्ला वडासदस्यमा ७२८, महिला वडासदस्यमा ३ सय ५० र दलित महिला वडासदस्यमा ३०० जना उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ ।