मकवानपुर– बागमती प्रदेश सरकारले खरको छानामुक्त प्रदेश निर्माण अभियान सुरु गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत पहिलो चरणमा प्रदेशका मानव विकास सूचकाङ्कका आधारमा सबैभन्दा कम अङ्क भएका १२ वटा गाउँपालिकामा यो अभियान सुरु गर्न लागिएको हो ।
प्रदेश सरकारले “खरको छानोमुक्त बागमती प्रदेश कार्यक्रम सञ्चालन मापदण्ड २०७७” तयार पारेर कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले जानकारी दिनुभयो । त्यसका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४ करोड रुपैयाँ रकम विनियोजन गरेको र पहिलो चरणमा १२ वटा गाँउपालिकालाई खरको छानामुक्त गराएर टिनको छानामा रुपान्तरण गरिने फुयाँलले जानकारी दिनुभयो । छानो चुहिने, आगलागी, हावाहुरी र विपद्बाट जनतालाई जोगाउन यस्तो अभियान ल्याईएको उहाँले बताउनुभयो । अभियान अन्तरगत छनोटमा परेका लाभग्राही परिवारलाई टिनको छाना उपलब्ध गराउन प्रत्येक गाँउपालिकालाई २५ लाखका दरले रकम उपलब्ध गराईने समेत उहाँले जानकारी दिनुभयो ।
मन्त्री फुयाँलका अनुसार कार्यविधि तयार गरेर पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने सम्बन्धित निर्वाचन क्षेत्रको प्रदेश सभा सदस्यको संयोजकत्वमा अनुगमन तथा मुल्याङ्कन समिति र सम्बन्धित गाँउपालिका अध्यक्षको अध्यक्षतामा लाभग्राही र निवेदक छनौट समितिले छनौट गरेका लाभग्राहीको खरको छानो विस्तापित गरि टिनको छानो लगाईने छ । उहाँका अनुसार पहिलो चरणमा खरको छानोमुक्त बागमती प्रदेश कार्यक्रम अन्तर्गत सिन्धुलीको घ्याङलेख, फिक्कल, मरिण, र हरिहरपुरगढी गाँउपालिका, दोलखाको गौरीशंकर र बिगु गाँउपालिका, सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल र हेलम्बु गाँउपालिका, रसुवाको नौकुण्ड र आमाछोदिङमो गाँउपालिका तथा धादिङको खनियाबाँस र रुविभ्याली गाँउपालिकामा कार्यक्रम सञ्चालन गरिने छ ।