काठमाडौं– यही फागुन ७ गते ७० औं प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । गृह मन्त्रालयमा मूल समारोह समिति गठन गर्न आज बसेको बैठकले प्रजातन्त्र दिवसका अवसरमा आगामी फागुन ६, ७ र ८ गते गरिने विभिन्न कार्यक्रमको समेत तय गरेको छ । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २००७ साल फागुन सात गतेलाई प्रजातन्त्र स्थापना भइ नेपालको इतिहासमा अन्धकार युगको अन्त्य भएको दिनका रुपमा स्मरण गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक इतिहासमा निरंशुक राणा शासनको अन्त्य भइ राष्ट्रिय एकता र पहिचान सहितको प्रजातन्त्र स्थापना भएको २००७ सालको गौरवपूर्ण इतिहास नबुझे नयाँ पुस्ताले नेपाल पनि बुझ्न नसक्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले हरेक स्थानीय तहले गाउँ टोलसम्म पुगेर आम नागरिकको सहभागितामा प्रजातन्त्र दिवस मनाउन निर्देशन पनि दिनुभयो । बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाको संयोजकत्वमा प्रचारप्रसार उपसमति पनि गठन गरेको छ । बैठकमा मन्त्रीहरु, मुख्यसचिव, सचिवहरु, भक्तपुर, ललितपुर र काठमाडौं महानगरपालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।प्रजातन्त्र दिवसका अवसरमा आगामी फागुन ७ गते सैनिक मञ्च टुडिखेलमा मुख्य कार्यक्रमको आयोजना गरिने छ ।