मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले सोमबार भीमफेदी गाउँपालिकामा अनुगमन गर्नुभएको छ । कोभिड–१९ कोरोना रोकथाम तथा नियन्त्रणमा गाउँपालिकाको तयारी तथा व्यवस्थापनका विषयमा जानकारी लिन प्रमुख खुलालले अनुगमन गर्नुभएको हो ।
अनुगकनका क्रममा प्रमुख खुलालले गाउँपालिकाले हाल सम्म गरेका प्रयासहरुको बारेमा जानकारी लिनुका साथै निरिक्षण समेत गर्नुभएको थियो । प्रमुख खुलालले स्वास्थ्य संस्थालगायत गाउँपालिकाले तयार पारेको क्वारेन्टाई, राहत वितरणको अवस्था, उत्पन्न समस्या तथा समाधानका बारेमा गाउँपालिका अध्यक्ष हिदम लामा तथा प्रमुख प्रशासकिय अधिकृत जिवन कुँबरसंग छलफल समेत गर्नुभएको थियो । यस अघि प्रमुख खुलालले जिल्लाकाे मनहरी र मकवानपुरगढी, बकैया र बागमती गाउँपालिकामा समेत अनुगमन गर्नुभएकाे थियाे ।
अनुगमनका क्रमममा अध्यक्ष लामाले गाउँपालिकाले हाल सम्म गरेका प्रयास एवम् समस्याहरुका बारेमा प्रमुख खुलालललाई जानकारी गराउनुभएको थियो । उहाँले बाहिरबाट गाउँमा आएकाहरुको स्थास्थ्य परिक्षण देखि लकडाउनका कारण गाउँ फर्किन नसक्नेहरुलाई व्यवस्थापनको कार्य गरेको, सचेतनाका विभिन्न उपायहरु अवल्म्बन गरिएको, लकडाउनका कारण प्रभावित गाउपालिकाको ९ वटै वडामा अति जोखिम परिवारको पहिचान गरि प्रथम चरणको राहत बितरण गरिएको जानकारी दिनुभयो । अनुगमन टोलीमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, नायब सुब्बा उपेन्द्र पोखरेललगायतको सहभागिता थियो ।