काठमाडौँ – सरकारले कोभिड १९को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तुको आपूर्ति सहज बनाउन भन्सारहरूमा ‘शीघ्र प्रक्रिया’ प्रयोगमा ल्याउने भएको छ । भन्सार विभागले कोभिड १९ को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तुको शीघ्र जाँचपास कार्यविधि २०७८ जारी गर्दै मालवस्तु आपूर्ति सहज बनाउन शीघ्र प्रक्रिया अपनाउन लागेको जनाएको छ ।
विभागले शीघ्र प्रक्रियाबाट भित्र्याउने मालवस्तुको सूचिमा मेडिकल ग्रेड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन ट्याङ्कसहित अक्सिजनसँग सम्बन्धित विभिन्न उपकरण औषधी लगायतका करिब २ दर्जन वस्तु रहेका छन् । शीघ्र प्रक्रियाबाट भन्सार जाँचपास गराउनुपर्ने मालवस्तुलाई पैठारीकर्ताले अत्यावश्यक मालवस्तुका रुपमा घोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसका लागि प्रमाणित हुने कागजात पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । तर, प्रज्ञापन पत्रका साथमा पेस गर्नुपर्ने कुनै कागजात तत्काल पेस गर्न नसकेमा त्यस्तो कागजातपछि पेस गर्ने सर्तमा भन्सार अधिकृतले मालवस्तु जाँचपास गर्न सक्नेछन् । मालवस्तु जाँचपास भएकोमा उचित समय भित्र पैठारीकर्ताले त्यस्तो कागजहरू विद्युतीय माध्यमबाट वा भौतिक रुपमा भन्सार अधिकृतसमक्ष पेस गर्नुपर्ने गरी तोकिएको छ ।