मकवानपुर / बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठलाई दिएको छ । नेकपा एमाले सरकारबाट बाहिरिएपछि बुधबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आउनु भएका नेकपा एमालेका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाको स्थानमा श्रेष्ठलाई जिम्मेवारी दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
त्यस्तै, बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा सिन्धुलीका प्राध्यपक डाक्टर नरविक्रम थापालाई नियुक्त गरेको छ । यस्तै चेपाङ समुदायको न्वागी र माझी समुदायको लदी पर्वमा समुदायगत विदा दिने तथा वैशाख १ गते देखि बागमती प्रदेशका सरकारी कार्यालयहरुमा विद्युतिय हाजिर गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।