राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल सरकारको आर्थिक बर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन तथा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक बर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहबिच राष्ट्रपति भण्डारी समक्ष प्रधानमन्त्री देउवाले नेपाल सरकारले गरेका काम र उपलब्धिसहितको ती दुवै वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।
प्रतिवेदन पेश गर्नुहुँदै प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष शेर बहादुर देउवाले राष्ट्रिय प्रतिरक्षा नीति २०७७ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको तथा सीमा सुरक्षालाई सबल र सुव्यवस्थित तुल्याउन उत्तर र दक्षिणी सीमानाका विभिन्न स्थानमा सीमा सुरक्षा चेकजाँच चौकी (विओपी) हरू स्थापना गरिएको बताउनुभयो । प्रधानमन्त्री देउवाले सो अवधिमा जलविद्युत उत्पादनले तीव्रता पाएको, जनतालाई राहत पुग्ने कार्यक्रमहरू सञ्चालन गरिएका तथा सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनुभयो । सोही अवसरमा प्रधानमन्त्री देउवाले वर्तमान सरकार गठन भएपछि कोरोना भाइरस कोभिड १९ नियन्त्रणका लागि खोप अभियानलाई तीव्रता दिइएको र त्यसको फलस्वरूप १८ वर्ष माथिका ८० प्रतिशत भन्दा बढीले पुरा मात्रा खोप प्राप्त गरिसकेको बताउनुभयो । प्रधानमन्त्री देउवाले सबै नागरिकले कोरोना विरुद्धको खोप निःशुल्क रुपमा पाउने र त्यसका लागि सरकारले अभियान नै चलाइरहेको बताउनुभयो ।