मकवानपुर – मकवानपुरको राक्सिराङ गाउँपालिका–४ मा रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगको खानीका विषयमा उठेका विभिन्न समस्याका विषयमा राष्ट्रिय मानव अधिकार आयोले चासो देखाएको छ । सिमान्तकृत चेपाङ र तामाङ बाहुल्यता रहेको उक्त क्षेत्रमा खानी सञ्चालनमा आएपछि उत्पन्न विभिन्न समस्या समाधानका लागि आयोगले चासो दिएको हो ।

No description available.

रिद्धिसिद्धि सिमेन्ट उद्योगको खानीका कारण स्थानीयले निकै कष्ट खेप्नू परेको, खानी प्रभावित क्षेत्रका बासिन्दाहरुको उचित व्यवस्थापन नभएको, ढुंगा गुल्टेर घरमा आउने अबस्था रहेको, बाटोमा धुलो उड्ने, पानीका मुहान सुकेको र धमिलिएको जस्ता विषयमा उद्योगले ध्यान नदिएको भन्दै स्थानीयले मानव अधिकारको रक्षाको माग गर्दै आयोगमा उजुरी दिएपछि आयोगले चासो दिएको हो । सो विषयमा आयोगले आज हेटौंडामा सरोकारवालाहरुसंग अन्तरकृया गरेको छ । आयोगका उपसचिव हरिप्रसाद ज्ञवालीको अध्यक्षतामा स्थानीय नागरिकको माानव अधिकार संरक्षणमा सरोकारवालाको भुमिका विषयक अन्तरकृया कार्यक्रम आयोजना भएको हो ।

No description available.

कार्यक्रममा पिडितका तर्फबाट चेपाङ महासंघका केन्द्रिय प्रतिनिधि खेम चेपाङले खानकिा कारण विस्तापित भएका सिमान्तकृत चेपाङ समुदायको व्यवस्थापन हुनुपर्ने बताउनुभयो । उहाँले खानी क्षेत्रले आगटेको जती नै जग्गा अन्यत्र उपलब्ध गराउनु पर्ने, विद्यालय सार्नाले विद्यार्थीहरु पढनबाट बन्चित भएकोले उक्त समस्या समाधान हुनु पर्ने बताउनुभयो । यस्तै चेपाङ संघका जिल्ला अध्यक्ष पूर्णबहादुर चेपाङले खानी र चेपाङ समुदाय बिच बिचौलियाका कारण समस्या भएको बताउनुभयो । उहाँले सरकार र गैरसरकारी पक्षबाट चेपाङ समुदाय सधैं समस्यामा पर्ने गरेको प्रति ध्यानाकर्षण समेत गराउनु भएको थियो । उहाँले उक्त क्षेत्रमा रहेका करीब २३ परिवार चेपाङहरु बढी प्रभावित रहेको बताउनुभयो ।
त्यस्तै चेपाङ संघका प्रदेश अध्यक्ष खुसीलाल चेपाङले खानी पक्षले केहि बिचौलीयाको आडमा चेपाङ समुदायको विष्ष्यमा बेवास्ता गरेको बताउनुभयो । उहाँले चेपाङ समुदाय विस्तापित हुने अवस्था आएकाले आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो । यस्तै स्थानी मानबहादुर वाईवाले चेपाङ समुदायको मानव अधिकारको रक्षाका लागि विषेश गरि गाउँपालिका र उद्योग जवाफदेही हुनु पर्ने बताउनुभयो ।
कार्यक्रममा उद्योगका प्रतिनिधिहरुले भने आफुहरुले गरेको प्रतिबद्धताहरु सबै पुरा गरेको बताएका थिए । हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तरगत उद्योगले विभिन्न कार्यहरु गर्दै आएको उनिहरुका भनाई थियो । उनिहरुले १० लाख भन्दा कम मुवाब्जा पाउनेलाई उद्योगले ४० बोरा सिमेन्ट र ३० बण्डल जस्ता दिने गरेको, समुदायमा हुने विभिन्न कार्यक्रमहरुमा आर्थिक सहयोग गर्ने गरेको, नियमित स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको, स्थानीय सडक स्तरकिरणमा सहयोग गर्ने गरेको, विद्यालय भवन निर्माणमा सहयोग गरेकोलगायत स्थानीयबाट माग भईआएका समस्याहरुको यथोचित सम्बोधन गर्ने गरेको बताएका थिए ।
कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले उद्योग र स्थानीय बिचको समस्या समाधान हुनु पर्ने बताउनुभयो । उद्योगले गरेका प्रतिबद्धता पुरा गर्नुपर्ने र स्थानीयले खानी सञ्चालनमा सहयोग पु¥याउनु पर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा खानीजन्य तथा नदिजन्य जिल्ला अनुगमन समितिका संयोजक समेत रहनु भएका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले वातावरणिय प्रभाव मुल्याङकनका आधारमा खानी सञ्चालन हुने हो भने समस्या नआउने बताउनुभयो । उहाँले व्यवस्थित भएर उद्योग सञ्चालन हुनुपर्ने भन्दै केहि कानुनी प्रकृयाका कारण पनि समस्या आएको बताउनुभयो । भौगोलिक अवस्थाको बारेमा अध्यन नगरिकनै अनुमति दिँदा पनि यस्तो समस्याहरु आएाको उहाँले बताउनुभयो । उहाँले कानुन अभावकै कारण हरेक वर्ष कार्यकारी आदेशको भरमा काम गर्नुपर्दा समस्या आएको बताउनुभयो ।
कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकासंग सहकार्य नभएको, उद्योगले स्थानीयसंग गरेका प्रतिबद्धता पुरा नगरेको कारण पनि समस्या आएको बताउनुभयो । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उद्योग सञ्चालन हुनु पर्ने तर व्यवस्थित रुपमा हुनु पर्ने बताउनुभयो । उहाँले उद्योगले गरेका प्रतिबद्धता पुरा गरेर अगाडी बढ्नु पर्ने साथै आवश्यक शान्ति सुरक्षा दिन तयार रहेको समेत बताउनुभयो । कार्यक्रममा जिल्ला मालपोत कार्यालयका, नापी कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी कार्यालयका प्रमुखहरुलगायत विभिन्न नागरिक समाजका अगुवाहरुको समेत उपस्थिती थियो ।