मकवानपुर – बागमती प्रदेशको राजधानी हेटौंडामा शिक्षाको अधिकार सम्बन्धी अन्तरकृया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) बागमती प्रदेशको आयोजना स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउने परियोजना अन्तरगत हेटौंडा उपमहानगरपालिकामा गठन भएको मानव अधिकार समुहको समन्वयमा कार्यक्रम भएको हो ।

मानव अधिकार समूह हेटौंडा उपमहानगरपालिकाकी संयोजक चन्द्रावती पनेरुको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा मेयर महतले शैक्षिक क्षेत्रको सुधारमा अझै थुप्रै काम गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले अन्य क्षेत्रको तुलनामा शिक्षा क्षेत्रमा सबैभन्दा धेरै समस्या रहेको बताउनुहुँदै यसमा क्रमिक सुधार समेत हुँदै गएको बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रमा सहभागि शिक्षक, अविभावक, विद्यार्थिलगायत सरोकारवालाले शिक्षाको अधिकारमा सबैको पहुँच हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहभागि विभिन्न विद्यालयका प्राध्यापकहरुले विद्यार्थीलाई विद्यालयमा प्राप्त हुने सबै सुविधा प्राप्त हुँदा पनि कतिपय अवस्थामा पारिवारीक समस्याका कारण अधिकारबाट बञ्चित हुने समस्या रहेको धारणा राख्नुभएको थियो । विद्यार्थीहरूलाई विद्यालयको समस्या, गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय सिकाई वातावरणको समस्या, भौतिक सुविधाको समस्यामा स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने उहाँहरुको भनाई थियो । उहाँहरुले कोभिडका कारण सिकाइमा भएको क्षति पुरा गर्न समस्या रहेको समेत धारणा राख्नुभयो । यसका साथै अन्तरक्रियामा सहभागिहरुले हेटौंडा उपमहानगरपालिकाको विभिन्न शैक्षिक सवाल उठान गर्नु भएको थियो ।

अन्तरकृयामा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाई, २ नम्बर वडा सदस्य महेश्वरमान श्रेष्ठ, शिक्षा शाखा प्रमुख गंगाधर रिमाल, शिक्षा अधिकृत रामचन्द्र खड्का, अमर माविका प्रअ मालती उप्रेती, सिद्धार्थ माविका प्रअ मोहन शर्मा, आधुनीक माविका प्रअ बिरवंश बैठा, नगर शिक्षा समिति सदस्य ईश्वरी रसाईलीलगायत सरोकारवालाको सहभागिता थियो ।