मकवानपुर – जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् खानीजन्य तथा नदिजन्य जिल्ला अनुगमन समितिका संयोजक रघुनाथ खुलालले ठाेस कानुनको अभावमा प्रकृतिक स्रोतको व्यवस्थापनमा समस्या देखिएको बताउनुभएको छ । सोमबार हेटौंडामा राष्ट्रिय मानव अधिकार आयोगद्धारा आयोजित स्थानीय नागरिकको माानव अधिकार संरक्षणमा सरोकारवालाको भुमिका विषयक अन्तरकृया कार्यक्रममा उहाँले हरेक वर्ष कार्यकारी आदेशका भरमा चल्नु पर्दा समस्या भएको बताउनुभएको हो ।
उहाँले कानुन नहुँदा हरेक वर्ष फरक फरक कार्यादेश आउने जसका कारण काम गर्न समस्या हुने गरेको बताउनुभयो । खानीजन्य तथा नदिजन्य पदार्थको उच्चतम सदुपयोग गर्नुपर्ने ठाउँमा चोरी निकाशी हुने समस्या रहेको बताउनुभयो । उहाँले सरकारले ठोस कानुन बनाएर वातावरणिय प्रभाव मुल्याङकनका आधिनमा रहेरकाम गर्न पाउने हो भने, समस्या नआउने बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोले मकवानपुरको राक्सिराङ गाउँपालिका–४ मा रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगको खानीमा उत्पन्न समस्या समाधानका लागि कार्यक्रम आयोजना गरेको हो । स्थानीयवासी र उद्योगबीचको समस्या समाधान गर्ने उदेश्यका साथ आयोगले सरोकारवालासंगको अन्तकृया कार्यक्रम आयोजना गरेको हो । आयोगका उपसचिव हरिप्रसाद ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, विभिन्न सरकारी कार्यालयका प्रमुखहरू तथा गैरसरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधि, स्थानीयलगायत सरोकारवालाको सहभागिता थियो ।