मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्राचौरमा १३ तलाको बहुउद्देश्यीय भवन निर्माण गर्नका लागि आज सम्झौता गरिएको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको रोहबरमा प्रमुख प्रशासकीय अधिकृत शिबराज चौलागाई र लामा, रसुवा, बानियाँ जेभीका संचालक ऋशी बानियाँबीच आज सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

कूल ७७ करोड ९३ लाख ७२ हजार रूपियाँ लागत अनुमान गरेर ठेक्का आब्हान गरिएकोमा ४७ करोड ९३ लाख ७२ हजार रुपियाँ लागतमा लामा, रसुवा, बानियाँ जेभीले ठेक्का सकार गरेर आज सम्झौता गरिएको हो । हेटौंडामा सबै भन्दा धेरै रकम लगानीमा हेटौंडाको बसपार्कमा बस टर्मिनल, थानाभर्याङमा तरकारी थोक बजार र आज सम्झौता गरिएको बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको मेयर हरिबहादुर महतले बताउनुभयो ।

उपमहानगरपालिकाको ठुलो लगानी भएका तीन वटा भवन मध्ये दुइवटाको काम भइरेको छ । अर्को भवन भने आज सम्झौता गरिएको मेयर महतले जानकारी दिनुभयो । हेटौंडामा तरकारी थोक बजार प्रदेश सरकार र उपमहानगरपालिकाको लगानीमा निर्माण भईरहेको छ भने अन्य दुईवटा भवन उपमहानगरपालिकाले आफ्नै लगानीमा निर्माण गर्न लागेको उहाँले बताउनुभयो ।

हुप्राचौरमा निर्माण हुन लागेको बहुउद्देश्यीय भवन भ्याट र कन्सल्टेन्सीसहित ९६ करोड ३५ लाख ४४ लाख रुपियाँ लागत निस्किएको थियो । त्यस बाहेकमा ठेक्का आब्हान गर्दा ७७ करोड ७६ लाखमा लागत अनुमान गरिएको थियो । कुल लागतमा ३८ दशमलब २८ प्रतिशत घटेर तीन वर्षमा काम सम्पन्न गर्ने गरि लामा, रसुवा, बानियाँ जेभीले ठेक्का प्राप्त गरेको छ । १३ तले भवनमा दुइ तलाको अण्डरग्राउण्ड, चारतिरबाट लिफ्ट, दुइवटा भर्याङ, सबै भन्दा माथी भ्यूटावर निर्माण गरिने उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चौलागाईले बताउनुभयो । ब्यापारिक भवनको सबै भन्दा माथिको भ्यूटावेरबाट हेटौंडा र आसपासको क्षेत्र सहज रुपमा हेर्न सकिने छ । तीन वर्षमा काम सक्नेगरी ठेक्का दिइएको उपमहानगरपालिकाका योजना महासाखाका प्रमुख सत्यनारायण साहले बताउनुभयो । उपमहानगरपालिकाबाट लिएको काममा गुणस्तर कायम गर्दै समयमानै सकाउने लामा, रसुवा, बानियाँ जेभीका संचालक बानियाँले बताउनुभयो ।