मकवानपुर – हेटौंडामा जारी अन्तरपालिका जिल्ला स्तरीय पुरुष फुटबल प्रतियोगिता अन्तरग सोमबारको खेलमा बागमती गाउँपालिका र थाहा नगरपालिका विजयी भएका छन् । सोमबार भएको पहिलो खेलमा बागमती गाउँपालिकाले ईन्द्रसरोवरलाई र थाहा नगरपालिकाले मकवानपुरगढी गाउँपालिकालाई पराजित गरेको हो ।

जिल्ला समन्वय समिती मकवानपुरको आयोजनामा हेटौंडा–४ हुप्रचौरमा जारी प्रथम संस्करणको प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेलमा बागमतीले इन्द्रसरोबर गाउँपालिकालाई ट्राईब्रेकरमा ३–१ गोलअन्तरले पराजित गरेको हो । निर्धारित ८० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछी खेल ट्राईब्रेकरमा धकेलिएको थियो । खेलको पहिलो हाफको नवौं मिनेटमा इन्द्रसरोबरले मिलन लामाको गोलबाट अग्रता बनाए पनि २० औं मिनेटमा बागमतीका कप्तान आकाश राना मगरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । २७ औं मिनेटमा नै इन्द्रसरोबरका खेलाडीले फ्रीकिक मार्फत गोल गर्दै पुनःअग्रता बनाउन सफल भए पनि दोस्रो हाफको अतिरिक्त समयमा बागमतीका आकाशले दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएसँगै खेल बराबरीमा सकिएको थियो । ट्राईब्रेकरमा इन्द्रसरोबरका २ खेलाडीको प्रहार बागमतीका गोलरक्षक उमेश पाख्रीनले उत्कृष्ट बचाउ गरेर टीमलाई विजयी बनाएका थिए । खेलको म्यान अफ दि म्याच पनि बागमतीका गोलरक्षक पाख्रीन नै घोषित भए ।
त्यस्तै प्रतियोगिता अन्तरगत आजै भएको दोस्रो खेलमा थाहा नगरपालिकाले मकवानपुरगढी गाउँपालिकालाई शुन्यका बिरुद्ध ४ गोल गर्दै विजयी भएको छ । पहिलो हाफ निकै नै प्रतिष्पर्धात्मक रुपमा बराबरीमा सकिएको खेलको दोस्रो हाफको ६४औं मिनेटमा थाहाका राजन गोलेले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा गढी गाउँपालिका सम्हालिन नसक्दा ६७औं मिनेटमा थाहाका सन्देश बलले टीमका लागि दोस्रो गोल गरेका थिए । भने, थाहाका लागि ८२औं र अतिरिक्त समयको चौथो मिनेमा राजन गोलले व्यत्तिगत दुई गोल गर्दै खेलमा पहिलो ह्याट्रिक गोल गर्नुका साथै थाहा नगरपालिकालाई फराकिलो गोल अन्तरले विजयी बनाउन सफल भए । खेलको म्यान अफ दि म्याच पनि ह्याट्रिक गोल कर्ता राजन गोले घोषित भएका थिए ।
प्रतियोगिता अन्तरगत भोली मंगलबार हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपािलका बीच खेल हुने छ । प्रतियोगिताको उपाधि विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा अन्य विधागत खेलाडीले ३ हजार रुपैयाँको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।