काठमाण्डौ– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सोमबार भएको दोस्रो खेलमा बागमती प्रदेश विजयी भएको छ । बागमतीले सुदूरपश्चिम प्रदेशलाई एक सय ८० रनको फराकिलो अन्तरले हराएको हो । जितसँगै वाग्मती लगातार दोस्रो खेलमा विजयी भएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वाग्मतीले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै दुई सय ९९ रन बनाएको थियो । उसका लागि पृथु बाँस्कोटाले ८४ र आदिल खानले ६३ रन बनाए । त्यस्तै ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले समान ३२–३२ रनको योगदान गरे । बलिङतर्फ सुदूरका नारायण जोशीले तीन विकेट लिए भने भोजराज भट्ट र सन्तोष भट्टले समान दुई–दुई विकेट लिए । तीन सय रनको लक्ष्य पाएर ब्याटिङमा उत्रिएको सुदूर २१ ओभरमा एक सय १९ रन बनाउँदा अलआउट भयो । उसका नारायण जोशीले अविजित ४४ र अर्जुन साउदले ३१ रन बनाए पनि ६ खेलाडीले एक रन पनि जोड्न सकेनन् । बलिङतर्फ बागमतीका रामनरेश गिरीले चार विकेट लिँदा नारायण यादवले दुई विकेट लिए ।