हेटाैंडा– कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका भोजपुरका २६ वर्षका युवकालाई उपचारका लागि विराटनगरमा लगिने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बिहीबार कोरोनाको पुष्टि भएका युवा अहिले भोजपुर हतुवागढीमा डाक्टरको निगरानीमा रहेका र थप उपचारका लागि विराटनगर ल्याइदै गरेको जानकारी दिनुभयो ।
गएको फागुन ३० गते साउदी अरबबाट हिमालयन एयरबाट ती युवा नेपाल आएका देवकोटाले जानकारी दिनुभयो । काठमाडौंबाट उदयपुर पुगेका उहाँ केही समय उदयपुरमा नै बस्नु भएको थियो । त्यस पछि उदयपुरबाट भोजपुर गएको जानकारी मन्त्रालयलाई प्राप्त भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।
उदयपुरमा रहदा स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित युवकको सम्पर्कमा रहेका सबैको नमुना संकलन भएको छ । नेपालमा अहिलेसम्म ४८ जनालाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । संक्रमितमध्ये बाग्लुङ र धनगढीमा एकएक जनाको उपचार भईरहेको छ भने विरगञ्जमा ५ जना भरतपुरमा दुई जना र विराटनगरमा २८ जनाको उपचार भईरहेको छ । सबै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोना सङ्क्रमितमध्ये १० जना उपचार पछि निको भएर घर फर्किएका छन् ।