मकवानपुर– राष्ट्रियसभा सदस्य उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशको अन्य समूहबाट निर्वाचित हुने रिक्त राष्ट्रियसभा सदस्यको लागि मतदान जारी छ । हेटौँडा–४ स्थित भुटनदेवी माविमा जारी मतदान शान्तिपूर्ण ढंगले चलिरहेको छ ।
दिउसो मतदान ३ बजेसम्म हुने निर्वाचनमा हालसम्म करीब ५० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको मत गणना र परिणाम घोषणा आज साँझ नै सार्वजनिक गर्ने तयारी छ । निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले मतगणना साँझ ५ बजेबाट सुरु गरिने र साँझ ७ बजेसम्ममा मत परिणाम आइसक्ने अनुमान गरिएको जानकारी दिनुभयो ।
उपनिर्वाचनमा कोभिड १९ सङ्क्रमित मतदाताका लागि छुट्टै मतदान केन्द्रसहित तीन वटा मतदान केन्द्र व्यवस्था गरिएको छ । मतदान स्थलमा यसअघि प्रदेशसभा सदस्यका लागि केन्द्र (क) र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि केन्द्र (ख) र कोभिड १९ सङ्क्रमित प्रदेश सभाका सदस्य र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरूले मतदान गर्न मतदान केन्द्र (ग) गरी तीन वटा मतदान केन्द्र तोकिएको छ ।
उपनिर्वाचनमा नेकपा एमालेबाट रामबहादुर थापा बादल, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट कृष्णबहादुर तामाङ र स्वतन्त्र उम्मेदवार डा.खिमलाल देवकोटा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उपनिर्वाचनका लागि ३४८ जना मतदाता रहेकोमा प्रदेश सभाका सदस्य पशुपति चौलागाईँको कोरोना सङ्क्रमणबाट निधन भएपछि ३४७ मतदाता रहनु भएको छ । हाल बागमती प्रदेशको प्रदेशसभा सदस्य १०९ जना रहनु भएको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख गरी २३८ जना मतादाता रहने छन् ।

फोटो फिचर