काठमाण्डौ – सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणलाई थप व्यवस्थित गर्न टोली गठन गर्ने भएको छ । विभिन्न पालिकामा खटिने गरी जनस्वास्थ्य अधिकृत, ल्याब प्रयोगशालाको कर्मचारी र नर्स सम्मिलित तीन सदस्यीय टोली गठन गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाको रोकथामका लागि हरेक गाउँपालिकामा एउटा, नगरपालिकामा दुई वटा, उपमाहानगरपालिकामा तीन वटा र महानगरपालिकामा ५ वटा टोली खटाइने जानकारी दिनुभयो । यो टोलीमा पालिकामा उपलब्ध स्वास्थ्यकर्मीलाई परिचालन गरिने छ । तर अपुग भएमा अरु ठाउँबाट पनि खटाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा अहिले ४८ जनालाई कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ भने सक्रमितमध्ये १० जना उपचार पछि निको भएर घर फर्किएका छन् ।