मकवानपुर – नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले ऐतिहासिक क्षेत्रहरुको संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका – ६ स्थित चिसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माणको बुधबार शिलान्यास गर्नुहुँदै प्रधान सेनापति शर्माले चिसापानी गढीसहित देशभरका गढीहरुले देशको सिमा रक्षाको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै यसको संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको हो ।

प्रधान सेनापति शर्माले अन्य स्थानमा रहेको विभिन्न गढीलाई पनि संरक्षण गर्न आवश्यक रहेको बताउनुहुँदै यसमा नेपाली सेनाले आवश्यक गर्ने बताउनुभयो । देशभरका गढीहरुको संरक्षणको कार्यलाई राज्यपक्षले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाई प्रविधियुक्त विकास गरिँदै लैजानुपर्ने उहाँको भनाई थियो । उहाँले नेपाली सेनाले यस गढी र देशभर भएका यस्ता गढीको संरक्षणको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने र आवश्यक परेको खण्डमा सहयोग गर्न सदैव तयार हुने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो । ऐतिहासिक र सामरिक महत्वका सम्पदाहरुको संरक्षण गरेर खुल्ला संग्राहलयका रुपमा विकास गर्नुपर्ने जसबाट आर्थिक विकासमा मद्धत पुग्ने उहाँको भनाई थियो । लामो समयदेखि राज्यको नरजमा पर्न नसकेको सो गढीको संरक्षणमा भीमफेदी गाउँपालिकाले सक्रियता देखाएको भन्दै उहाँले खुशी समेत व्यक्त गर्नुभयो । सो अवसरमा प्रधान सेनापति शर्माले चिसापानी गढी परिसरमा राष्ट्रिय झण्डोतोलन गर्नुका साथै गढी क्षेत्रको अवलोकन समेत गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले मकवानपुर जिल्ला पर्यटनको प्रचुर सम्भावना भएको जिल्ला भएको भन्दै यस्ता ऐतिहासिक सम्पदाको संरक्षण गरेर पर्यटन प्रबद्र्धन गर्नुपर्ने बताउनुभयो । यस्ता गढीहरुको ऐतिहासिक, सामरिक र पुरातत्वीक रुपमा महत्व रहेको भन्दै यसको संरक्षणमा गाउँपालिकाले तदारुक्ता देखाएकोमा धन्यवाद दिनुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ७० र भीमफेदी गाउँपालिकाको ३० प्रतिशत लगानीमा ऐतिहासिक चिसापानी गढी संरक्षण तथा पूर्वाधार निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष हिदम लामाले बताउनुभयो । कूल २८ करोडको गुरुयोजनासहित अघि बढाइएको उक्त आयोजनाको लागि चालु आर्थिक बर्षमा ५ करोड रुपैयाँ विनियोजन गरि सकिएको छ । चालु आर्थिक बर्षमा बास्तुकलायुक्त प्रवेशद्वारा तथा चिसापानीगढी क्षेत्रको करिब ४ बिगाह क्षेत्रफलमा कम्पाउण्ड वाल निर्माण, आकर्षक नेपालको नक्सा निर्माण, सो क्षेत्रमा रहेको इनार पुनःनिर्माण तथा संरक्षण र सरसफाइको काम सम्पन्न गरिने र २ बर्ष भित्रमा अन्य निर्माण तथा संरक्षणका कामहरु सम्पन्न गरिने अध्यक्ष लामाले बताउनुभयो । निर्माण व्यवसायी कम्पनी अनक–माउन्टेन–गोले जेभीसंग गएको कात्तिक ७ गते ३ करोड ७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, गाउँपालिका उपाध्यक्ष पावर्ती राना, डिआइजी प्रकाश जङ्ग कार्की, सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु तथा स्थानीय सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।