नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । मतदान पार्टी मुख्यालय च्यासलमा सुरु भएको हो । मतदानमा इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग गरिएको र १ हजार १ सय ६६ जना मतदाता रहेको नेता विष्णु रिमालले जानकारी दिनुभयो ।
निर्वाचनले पाँच पदाधिकारीसहित २ सय ४० सदस्यीय कमिटी निर्वाचित गर्नेछ । बागमती प्रदेश कमिटीको अध्यक्षका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलले उम्मेदवारी दिनुभएको छ भने उपाध्यक्षमा इश्वरचन्द पोखरेल, दावा दोर्जे लामा, नारायण प्रसाद खतिवडा र राजेन्द्र राजथला, सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डितले उम्मेदवारी दिनुभएको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिनुभयो । गत असोज ८ गतेबाट सुरु भएको अधिवेशनमा नेतृत्व चयनका लागि सहमतिको प्रयास गरिएपनि सहमति हुन नसकेपछि आज मतदान भएको हो ।