हेटौंडा – श्रम कार्यालय हेटौंडाले बालबालिकालाई निकृष्ट काममा लगाउने हेटौंडाका तिन होटललाई कारबाहि गरेको छ । सोमबार अनुगमनका क्रममा हेटौंडा–१० बसपार्क क्षेत्रमा रहेको धादिङ, डाँफे र गण्डकी होटललाई बालबालिकालाई निकृष्ट काममा प्रयोग गरेको पाइएपछि होटललाई कारवाहि गरेको हो ।
कार्यालयकाका अनुसार धादिङ होटललाई ११ बर्ष उमेरकी बालिकालाई श्रममा लगाएको भन्दै ७ हजार, डाँफे होटललाई १५ बर्षिय बालक र गण्डकी होटलले १६ बर्षिय बालिकालाई काममा लगाएको भन्दै ३÷३ हजार रुपियाँ जरीवाना गरेको हो । कारबाहिमा परेका उनिहरुले आगामि दिनमा होटलमा वालश्रमको प्रयोग नगर्ने प्रतिबद्धता समेत जनाएको बताइएको छ ।
आगामि मंसिर मसान्तसम्म बालमैत्री पालिका घोषणाको तयारीमा रहेको हेटौंडा उपमहानगरपालिकाले गत बैशाख २० गते बसपार्क क्षेत्रका होटलमा बालश्रममा लगाइएको ४ जनाको उद्धार गरेको थियो । उद्धार गरीएका मध्य एक जना जन्मदर्ताका आधारमा परिवारमा पुर्नस्थापना भएका छन् भने अन्य तिन जनालाई सोमबार श्रम कार्यालयमा बालश्रमबारे आवश्यक परामर्श सहित परिवारको जिम्मा लगाइएको छ ।
यसअघि उपमहानगरको नगर बाल अधिकार समिति अन्तरगतको बालश्रमिक उद्दार तथा पुर्नस्थापना उपसमितिको नेतृत्वमा गएको अनुगमन टोलीले बसर्पाकका बिभिन्न तिन होटलबाट कानुनविपरित श्रममा लागिरहेका बालबालिकाहरुको उद्दार गरेको थियो । अनुगमन टोलीले कैलाश गाउँपालिका घर भई विगत १० महिनादेखि बसर्पाकस्थित डाँफे होटलमा काम गरिरहेका १५ वर्षीय बालक , डाँफे होटलबाटै भीमफेदी गाउँपालिका–६, माण्डु घर भएकी १५ वर्षीया बालिका, धादिङ होटल एण्ड लजबाट धादिङको रोराङ गाउँपालिका घर भएकी १३ वर्षीया बालिका र गण्डकी होटल एण्ड लजबाट भीमफेदी–५ सुपिङ घर भएकी १५ वर्षीया बालिकाको उद्दार गरेको थियो ।
बालश्रम ऐन (निषेध तथा नियमित) २०५६ अनुसार १४ बर्ष भन्दा मुनिका बालवालिकालाई श्रममा प्रयोग गर्न नपाउने व्यवस्था रहेको छ भने १४ देखि १८ बर्ष समुहको हकमा श्रम कार्यालयबाट श्रम अनुमती लिएर प्रयोग गर्न पाउने प्राबधान भएपनि उनिहरुलाई निकृष्ट श्रममा प्रयोग गर्न नमिल्ने व्यवस्था रहेको छ । यदी कानुन उल्लंघन गरेका ३ महिना कैद वा ५० हजार रुपियँसम्म जरीवाना वा दुबै हुने व्यवस्था छ । उपमहानगरको प्रारम्भिक चरणको तथ्याङक अनुसार हेटौंडामा ६३ जना श्रमिक बालवालिका रहेका छन् ।