मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रमबारे आज प्रदेश प्रदेशसभामा आबद्ध राजनीतिक दलहरुसँग अन्तरकृया गरेको छ । आगामी आर्थिक वर्षको बजेट निर्माणको लागि मुख्यमन्त्री कार्यालयले सोमबार अन्तरकृया कार्याक्रम आयोजना गरेर सुझाव संकलन गरेको हो ।
प्रदेशसभामा सोमबार भएको अन्तरक्रियामा दलका नेताहरुले नीति कार्यक्रममा प्रदेश निर्वाचन क्षेत्र केन्द्रित विषेश कार्यक्रम तथा परिणाममूखी नीति कार्यक्रम ल्याउन सुझाव दिनुभएको छ । उहाँहरुले दलभन्दा माथि उठेर पहुँचको आधारमा बजेट बितरण भन्दा आवश्यकता र योजनाको आधारमा नीति कार्यक्रम ल्याउन र त्यसको आधारमा बजेट निर्माण गर्न सुझाव दिनुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेल, नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष तथा प्रदेशसभा सदस्य सरल सहयात्री, राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा, नेकपा एकीकृत समाजवादीका नेता कृष्ण प्रसाद शर्मा खनाल, हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्य लगायतले सुझाव दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पाँच वर्षको प्रदेश सरकारको उपलब्धी समिक्षा र सबैको सुझावलाई समेटेर नीति कार्यक्रम ल्याइने बताउनुभयो । ‘हामी परिणाम देखिने र आम नागरिकलाई छुनेगरी नीति कार्यक्रम ल्याउने तयारीम छौं’, उहाँले भन्नुभयोे, ‘प्राप्त सुझावहरुको आधारमा हामी अघि बढ्नेछौं ।’
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामा, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल सहित प्रदेशसभा सदस्यहरुको उपस्थिती थियो । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रमको तयारी गरिरहेको छ ।