मकवानपुर । हेटौंडामा आगामी जेठ ५ गते वृहत उद्यमशिलता प्रदर्शनी तथा नृत्य प्रतियोगिता हुने भएको छ । हेटौंडा–४ नम्वर वडा कार्यालयको आयोजना तथा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको व्यवस्थापनमा वृहत उद्यमशिलता प्रदर्शनी तथा नृत्य प्रतियोगिता हुन लागेको हो ।
सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने र सांस्कृतिक कार्यक्रमबाट राष्ट्रिय उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हेटौंडा ४ का वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिनुभयो । प्रदर्शनीमा सहभागीहरुको मूल्याङ्कनको आधारमा प्रथम हुनेलाई नगद २५ हजार रुपैयाँ, द्वितीय हुनेलाई १५ हजार रुपैयाँ, तृतीय हुनेलाई नगद १० हजार रुपैयाँ र सान्तवना हुने २ जनालाई नगद ५ हजार रुपैयाँ प्रदान गरिने बताउनुभयो ।
यसैगरी नृत्य प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार रुपैयाँ, द्वितीय हुनेलाई नगद ३५ हजार रुपैयाँ, तृतीय हुनेलाई नगद २० हजार रुपैयाँ र सान्त्वना हुने दुईवटालाई नगद १०÷१० हजार रुपैयाँ प्रदान गरिने उहाँले बताउनुभयो । नृत्य प्रतियोगिताको लागि एक वडाको एक टिमको दर्ता शुल्क १ हजार रुपैयाँ तोकिएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष सिग्देलले वृहत उद्यमशिलता प्रदर्शनीका लागि टोल विकास संस्था नगर समन्वय समितिका सचिव राजेन्द्र चौलागाईको संयोजकत्वमा व्यवस्थापन मूल समिति तथा नृत्य प्रतियोगिताको व्यवस्थापनका लागि हरि गोपाल सापकोटाको संयोजकत्वमा समिति गठन गरिएको बताउनुभयो ।
वृहत उद्यमशिलता प्रदर्शनी तथा नृत्य प्रतियोगिता कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायक बद्री पंगेनीको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा टोल विकास नगर समन्वय समिति हेटौंडाका अध्यक्ष ध्रुवप्रसाद अधिकारी, हेटौंडा ४ नम्वर वडा कार्यालयका सचिव टीका कडेंललगायतको आतिथ्यता रहेको थियो ।