हेटाैंडा– नेपालमा पछिल्लो २४ घण्टामा सात सय ३१ जना कोरोना सङ्क्रमण निको भई डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले योसँगै नेपालमा कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको कुल संख्या ५५ हजार तीन सय ७१ पुगेको जानकारी दिनुभयो ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार पाँच सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७६ हजार २ सय ५८ पुगेको छ । देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा आज थप पाँच सय ५६ जना महिला र नौ सय ५७ जना पुरुष गरी १ हजार पाँच सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । प्रवक्ता गौतमका अनुसार देशभर हाल २० हजार तीन सय ९५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
यस्तै कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या चार सय ९१ पुगेको छ । कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा सर्लाहीकी ७२ बर्षीया महिला, काठमाडौँकी ५७ बर्षीया महिला र बाँकेकी ७६ बर्षीया महिलाको मृत्यु भएको हो भने मोरङका ६८ बर्षीय पुरुष , महोत्तरीका ५८ बर्षीय पुरुष , काठमाडौँका ६० र ७० बर्षीय पुरुष , बाँकेका ५३ र ३९ बर्षीय पुरुष, र चितवनका ५५ बर्षीय पुरुषको मृत्यु भएको भएकोे मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।