नेपाल कम्युनिष्ट पार्टी एमालेले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि डिजिटल घोषणापत्र सार्वजनिक गरेको छ । आज एक समारोहको आयोजना गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फिङ्गर स्क्यान गरेर सार्वजनिक गर्नुभएको घोषणापत्रमा खेतबारीमा पानी, खाँडीमा हैन स्वदेशमै जवानी, दिनदिनै सडक विस्तार, विकासको आधार, उत्पादन स्वदेशी, बजार विदेशी, नागरिकता नेपालीलाई मात्र र नो लाइन, सेवा अनलाइनलगायत २० वटा ग्यारेन्टी समावेश गरिएको छ । घोषणापत्रमा पार्टीले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्पलाई प्राथमिकता दिँदै मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ ।
घोषणापत्र सार्वजनिकपछि गरिएको प्रत्यक्ष संवादमा बैंकर अनिल शाहले घोषणापत्रमाथि सोध्नुभएको प्रश्नको जवाफ दिनुहुँदै अध्यक्ष ओलीले भ्रष्टाचार नियन्त्रण गर्न राज्य सञ्चालन गर्ने मूल नेतृत्व प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । उहाँले एमालेले सार्वजनिक गरेको घोषणापत्र चुनावी प्रतिबद्धता मात्रै नभई कार्यान्वयन गरिने स्थायी दस्ताबेज भएको स्पष्ट पार्नुभयो । नेकपा एमाले नेतृत्वमा बनेको सरकारले गुमेको नेपालको भू-भाग समेटेर नयाँ नक्सा सर्वसम्मतिले जारी गरेको स्मरण गर्नुहुँदै एमाले अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले सुरुवात गरेका विकासका कामलाई पूर्णता दिन मतदाताले आफ्नो विवेक प्रयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । निर्वाचनमा एमालेले एकल बहुमत प्राप्त गर्ने र मंसिर ४ पछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने एमाले अध्यक्ष ओलीले दाबी गर्नुभयो । पूर्णपाठ !