आगामी आर्थिक वर्षका लागि ५६ अर्ब भन्दा बढीको बजेट ल्याउँदै
मकवानपुर – बागमती प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्ने भएको । आज दिउसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुने बताईएको छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि ५६ अर्व भन्दा माथिको बजेट ल्याउने तयारी रहेको स्रोतले बताएको छ । अघिल्लो आव २०७७÷७८ मा करीब ५२ अर्बको बजेट ल्याएको प्रदेश सरकारले बजेटको आकार बढाएको छ । आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रसहित पूर्वाधारलाई प्राथमिक्ता दिएको बताईएको छ । बजेटमा कोरोना नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ भने विद्युतीय बस सञ्चालन, कुलेखानी सुरुङमार्ग निर्माणलगायतका कार्यक्रम समावेश गरिएको जनाइएको छ । बजेटमा प्रदेशका १३ वटै जिल्लालाई कोभिड सङक्रमित बिरामीको उपचार, अस्पतालको स्तरोन्नति र खोप लगाउने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको साथै सबै जिल्लामा कृषिको उत्पादन, पशुपालन र रोजगारीलाई प्रत्यक्ष अवसर जुटाइनेतर्फ बजेट विनियोजित गरिएको स्रोतले बताएको छ ।